वासिङ्टन, २० असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक सडकमा कर छुट प्राप्त रातो रङको डिजेल प्रयोग गर्न दिने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । कृषि मेसिनरी र अन्य अफ–रोड उपकरणमा प्रयोग हुने यस्तो डिजेललाई सडकमा चल्ने सवारीसाधनमा प्रयोग गर्न दिने निर्णय बढ्दो इन्धन मूल्य घटाउने उद्देश्यले गरिएको हो ।
मध्यावधि निर्वाचनअघि इन्धनको मूल्यवृद्धिले रिपब्लिकन पार्टीमाथि दबाब बढिरहेका बेला ट्रम्पले यस्तो निर्णय गर्नुभएको हो । नेब्रास्कामा आयोजित र्यालीमा उहाँले अफ–रोड प्रयोगको सीमालाई हटाउँदै जोसुकैले जुनसुकै प्रयोजनका लागि करमुक्त रातो डिजेल किन्न सक्ने बताउनुभएको थियो ।
रातो डिजेल सामान्य डिजेलकै प्रकार भए पनि यसमा राजमार्ग इन्धन कर लाग्दैन । तर, ह्वाइट हाउसको तथ्यपत्रमा कर पूर्ण रूपमा हटाउनेभन्दा वर्षको अन्त्यसम्म ब्याज वा जरिवाना नलिई कर स्थगित गर्ने तथा शुल्क हटाउने उपाय खोज्न अर्थमन्त्री स्कट बेसेन्टलाई रक्षामन्त्री पीट हेग्सेथसँग परामर्श गर्न निर्देशन दिइएको उल्लेख छ । सङ्घीय अधिकारी र राज्यका गभर्नरले निरीक्षण रोक्न तथा चालकको कर दायित्व माफ गर्न सक्ने पनि जनाइएको छ ।
ह्वाइट हाउसले मूल्यवृद्धिका लागि इरानको सट्टा रुस–युक्रेन युद्ध र विश्वव्यापी प्रशोधन क्षमताको अभावलाई कारण बताएको छ । ट्रम्पले आगामी चार महिनामा रणनीतिक भण्डारबाट १० करोड ब्यारेल प्रशोधित डिजेल बजारमा पठाउने विषयमा युरोपसँग भएको सम्झौताको पनि प्रशंसा गर्नुभएको थियो ।
अमेरिकामा डिजेलको मूल्य पछिल्ला सातामा प्रतिग्यालन छ अमेरिकी डलरभन्दा माथि पुगेको छ । रुसको निर्यात प्रतिबन्ध तथा युक्रेनका आक्रमणका कारण विश्व बजारमा आपूर्ति दबाब बढेपछि मूल्य उकालो लागेको हो । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया