काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाका सर्त विपरीत धार्मिक गतिविधिमा संलग्न भएको पुष्टि भएपछि २४ जना दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले देशनिकाला गरेको छ।
विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराउनुका साथै तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालाती मार्गस्थित सुन्दर डाँडा क्षेत्रमा रहेको नेपाल न्यु कभनेन्ट कलेजको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा उनीहरू सहभागी भइरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
वैध भिसा अवधि बाँकी रहेकै अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, मोरङले अनुसन्धान तथा कारबाहीका लागि गत असोज २३ गते अध्यागमन विभागमा बुझाएको थियो।
विभागले अध्यागमनसम्बन्धी प्रचलित कानुनअनुसार अनुसन्धान गर्दा उनीहरूले भिसाका सर्त उल्लङ्घन गरेको पुष्टि भएको जनाएको छ।
त्यसपछि असोज २८ गतेको निर्णयअनुसार जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै उनीहरूको भिसा रद्द गरिएको हो। विभागको निर्णयअनुसार उनीहरूलाई नेपालबाट निष्कासन गर्नुका साथै प्रस्थान गरेको मितिदेखि तीन वर्षसम्म नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया