काठमाण्डाै । सरकारले जापानमा भएको २०औँ एशियाली खेलकुद (एसियाड) मा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ ।
खेलकुद विकास नियमावलीअनुसार देशलाई पदक जिताउने करातेका तेञ्जिङ शेर्पा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ ।
यसअघि असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
सरकारले तेन्जिङलाई ६ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ३० हजार र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप ६५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
त्यस्तै कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनही ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
नेपाली महिला टोलीले लगातार दोस्रो पटक कांस्य जितेको हो । शेर्पाको भने यो पहिलो पदक हो ।
करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया