काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गर्दै नेपाल अङ्क तालिकाको शीर्ष ६ भित्र पर्न सफल भएको छ।
ब्याटिङमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालको अर्धशतक तथा बलरहरूको निर्णायक प्रदर्शनमा नेपालले रोमाञ्चक जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा २८० रनको बलियो योगफल खडा गरेको थियो। नेपालका लागि कप्तान रोहित, दीपेन्द्र र देवले अर्धशतकीय इनिङ खेले।
रोहितले ८१ बलमा ८० रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। जारी शृङ्खलामा यो उनको दोस्रो अर्धशतक हो भने उनले यसअघि एक शतकसमेत प्रहार गरिसकेका छन्।
दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा ६९ रन बनाए। अर्जुन कुमालको अनुपस्थितिमा ओपनरको जिम्मेवारी पाएका देव खनालले ५७ रनको योगदान दिए। इनिङको अन्त्यतिर बसिर अहमदले केवल ७ बलमा १७ रन प्रहार गर्दै नेपालको योगफल उकासे।
२८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो। एक समय एक विकेटको क्षतिमा १९० रन जोडेको ओमान जिततर्फ अघि बढिरहेको थियो। तर, नेपाली स्पिनरहरूले खेलको दिशा बदले।
ओमानका जतिन्दर सिंह र हम्मद मिर्जाले १५८ रनको साझेदारी गर्दै नेपालमाथि दबाब बढाएका थिए। ललितनारायण राजवंशीले उक्त साझेदारी तोड्दै जतिन्दर सिंह र हम्मद मिर्जालाई आउट गरेपछि नेपाल खेलमा फर्कियो।
नेपालका लागि ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए। कप्तान सन्दीप लामिछानेले पनि कसिलो बलिङ गर्दै १० ओभरमा ३७ रन खर्चेर एक विकेट हात पारे।
ओमानविरुद्धको जितसँगै नेपालले लिग–२ को आफ्नो अभियान शीर्ष ६ भित्र रहेर टुंग्याएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया