भक्तपुर । दसैँ पर्वमा महिषासुरको प्रतीक मानिने ठूलो राँगोलाई दौडाएर मनाइने ‘खम्ये’ जात्रा आज साँझ सम्पन्न भएको छ ।
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाका अनुसार यो वर्षको जात्रा अन्य वर्षको तुलनामा चाँडै सम्पन्न भएको हो । भक्तपुरको नवदुर्गा द्योछें (देवता घर)मा पालेर राखेको निख्खर कालो रङको राँगोलाई भक्तपुरको बह्मायणीसम्म दौडाएर जात्रा मनाइएको हो ।
नवदुर्गा घरमा राखिएको खःमेय्लाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योछेंबाट दौडाएर ब्रह्मायणी पीठसम्म पुर्याइन्छ र नवदुर्गालाई आजै राति बलि चढाइन्छ ।
भक्तपुरको तलेजु भवानीसँग सम्बन्धित यस जात्राले यहाँको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परालाई जीवन्त बनाउँदै आएको स्थानीयको भनाइ छ ।
दसैँको महानवमी तथा विजयादशमीको अवसरमा मनाइने खम्ये जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये एक हो । यस जात्रामा खम्ये अर्थात् ठूलो राँगोलाई विशेष धार्मिक विधिअनुसार पूजा गरी जात्रा सञ्चालन गरिन्छ ।
तलेजु भवानीको धार्मिक परम्परासँग जोडिएको यस जात्रामा स्थानीयवासी तथा श्रद्धालुको सहभागिता रहने गर्छ । जात्रा हेर्न खम्ये दौडाउने बाटोभरि हजारौँको भीड लागेको देखिएको थियो ।
भक्तपुरका परम्परागत जात्रा तथा पर्वहरूले यहाँको सांस्कृतिक पहिचानलाई जोगाउनाका साथै पुस्तान्तरण गर्दै आएका छन् । खम्ये जात्रा पनि धार्मिक विश्वास, परम्परागत विधि र सामुदायिक सहभागिताको प्रतीकका रूपमा रहँदै आएको छ । खम्ये जात्रा सम्पन्न भएसँगै भक्तपुरमा दसैँसँग सम्बन्धित महत्वपूर्ण सांस्कृतिक गतिविधिमध्ये एक पूरा भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया