कार्तिक ८, २०८३ आइतबार October 25, 2026

कोजाग्रत पूर्णिमासँगै आज बडादशैं विधिपूर्वक समापन हुँदै

मान्यजनबाट टीका-जमरा थापेर आशीर्वाद लिने क्रम आजैका दिनदेखि औपचारिक रूपमा समाप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपालीहरूको महान् चाड बडादशैं अर्थात् दुर्गा पक्ष आज कोजाग्रत पूर्णिमाका दिन विधिपूर्वक समापन हुँदैछ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको १५ दिन लामो दशैं पर्व आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना र रातभर जाग्राम बसेर बिदा गरिँदैछ। विगत १५ दिनदेखि घरघरमा हर्षोल्लासका साथ मनाइएको बडादशैँको यो १५औँ दिन अर्थात् पूर्णिमा तिथिको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ।

शास्त्र अनुसार आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने मानिसको घरमा माता महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने जनविश्वास रहिआएको छ। यसै विश्वासका आधारमा यस पूर्णिमालाई ‘कोजाग्रत’ अर्थात् ‘को जागा छ?‘ भन्ने अर्थमा मनाउने गरिन्छ।

नवरात्र विजयादशमीका दिन सकिने भए पनि शास्त्रीय मान्यता अनुसार समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन दुर्गाका तीन रूपमध्ये महालक्ष्मीको पूजा गरी जमरा विसर्जन गरेपछि मात्र पूर्ण रूपमा समाप्त हुन्छ। तिहारको लक्ष्मीपूजाको ठीक १५ दिनअघि महालक्ष्मीको आराधना गरिने हुनाले यस पर्वको आफ्नै विशेष महत्त्व छ भने यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहानै दशैंघर तथा कोतहरूमा राखिएका सम्पूर्ण फूलप्रसाद र जमराको अवशेषलाई नजिकको पवित्र नदी, तलाउ, पोखरी वा तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ।

आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादका रूपमा बडादशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ। मान्यजनबाट टीका-जमरा थापेर आशीर्वाद लिने क्रम आजैका दिनदेखि औपचारिक रूपमा समाप्त हुन्छ।

कोजाग्रत पूर्णिमाको समापनसँगै नेपाली सांस्कृतिक क्यालेण्डरमा नयाँ चाडपर्वको शृंखला सुरु हुन्छ। भोलिपल्टदेखि कात्तिक स्नान सुरु हुने र घरका तुलसीको मठ वा छतमा आकाशदीप दान गर्ने प्राचीन परम्परा रहेको छ।

यस दिनलाई दशैंको बिदाइ र नेपालीको अर्को ठूलो चाड तिहारको औपचारिक तयारीका रूपमा लिइन्छ, जसका कारण देशभर अब दीपावली र भाइटीकाको उमंग छाउन थालेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया