कञ्चनपुर । गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएका कञ्चनपुरका २५ वर्षीय नेपाली सेनाका जवान श्याम चन्दको दुई महिनापछि अन्त्येष्टि गरिएको छ। बाढीमा बेपत्ता भएपछि लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरेको हो।
भीमदत्त नगरपालिका–८ निवासी चन्द नेपाली सेनामा अमलदार दर्जामा कार्यरत थिए। २०७० सालमा नेपाली सेनामा भर्ना भएका उनी रसुवास्थित शिवनाथ गणको मैलुङ पोस्टमा खटिएका बेला भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका थिए। बाढीपछि उनको खोजी गरिए पनि दुई महिनासम्म कुनै अत्तोपत्तो लाग्न सकेन।
लामो समयसम्म पनि चन्दको अवस्था पत्ता नलागेपछि परिवारले उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको हो। आइतबार नेपाली सेनाले उनलाई अन्तिम सलामी दिएको थियो। त्यसपछि कञ्चनपुरको भुजेला आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो।
कर्तव्यमा खटिएका बेला प्राकृतिक विपद्मा परी बेपत्ता भएका चन्दको अवस्था पत्ता नलागेपछि परिवार शोकमा डुबेको छ। लामो समयसम्म प्रियजनको खबर पर्खिए पनि कुनै जानकारी नपाएपछि परिवारले परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। उनको बेपत्ता अवस्थाले परिवार र आफन्तलाई गहिरो पीडा दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया