काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रास्वपा संघीयता विरोधी पार्टी नभएको बताएका छन्।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा संघीयताविरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताएका हुन्।
उनले प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजाने उल्लेख गरे। उनले मधेसमा गत निर्वाचनमा रास्वपाले अत्याधिक मत पाएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे।
उनले भने, ‘हामी संघीयताको विरोधी होइनौँ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ। हामी प्रदेशसभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ।’
मधेसी समुदायका बीचमा आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए। उनले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया