काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको धारणा माग गरेका हुन्।
नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै थापाले विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क भएको बताएका छन्।
सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्नु पूर्वाग्रह भएको थापाको भनाइ छ। नेपालको राष्ट्रियता सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उनले उल्लेख गरेका छन्।
भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहेको स्पष्ट पार्दै थापाले सीमा मिचिने, डुबान हुने वा नाकाबन्दीजस्ता घटनाविरुद्ध आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्।
वाग्लेले विगतमा अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग पछिल्लो अभिव्यक्तिको सम्बन्ध रहेको हो कि भन्दै थापाले प्रश्न गरेका छन्। जिम्मेवार ओहोदामा रहेका व्यक्तिले यसबारे जवाफ दिनुपर्ने उनको माग छ।
‘के सरकारको धारणा यही हो ?’ भन्दै थापाले वाग्लेको अभिव्यक्तिबारे सरकारलाई प्रश्न गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया