काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९।३ ओभरमा ११३ रनमै समेटिएपछि कर्णालीले १९ रनको जित निकालेको हो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाए। जिम्मी निशमले १५, मायन यादवले १४ र अनिलकुमार शाहले ११ रन जोडे। कुशल परेवा ६, तृतराज दास एक र ललित राजवंशी एक रनमा आउट भए। आदित्य मेहता खाता नखोली पभेलियन फर्किए भने राहुल यादव एक रनमा अविजित रहे।
कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलतले घातक बलिङ गर्दै समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट झारे। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिम्मी निशमलाई आउट गरेपछि खेल कर्णालीको पकडमा पुगेको थियो। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। पवन सर्राफले ३७ बलमा ३७ रन जोडे। अरिफुल र पवनले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।
कर्णालीले भने सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रनमा आउट भए। टोलीले चार रनमै पहिलो विकेट गुमाएको थियो। थप १४ रन जोड्दा दोस्रो विकेट गुमाएको कर्णालीका लागि जनकपुरका डेब्यु खेलाडी राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा पभेलियन पठाए।
कर्णालीले ३७ रन जोड्दा हुसेन तलत तीन रनमा आउट भए। त्यसपछि अरिफुल र पवनले साझेदारी गरे पनि उनीहरू आउट भएपछि कर्णालीको रनगति फेरि सुस्ताएको थियो। अक्बर अली र कप्तान सोमपाल कामीले समान एक रन तथा गुल्सन झाले १२ रन बनाए। नन्दन यादव नौ रनमा आउट हुँदा युवराज खत्री र युनिस ठकुरी अविजित रहे।
जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट हात पारे।
एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया