काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।
अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख, तेस्रो हुने टोलीले रु ४० लाख र चौथो स्थानमा रहने टोलीले रु ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै रु एक करोड १० लाख पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।
एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया