काठमाडौँ, कात्तिक ८ गते । महिला शान्ति सैनिकहरूको अनुकरणीय योगदानले नेपालको छवि थप उच्च बनेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली महिला सैनिकको विश्वमै अग्रणी उपस्थितिसँगै उनीहरूको सबल र प्रभावकारी योगदानका कारण नेपालको छवि उच्च बन्न पुगेको हो ।
द्वन्द्वग्रस्त मुलुकहरूका नागरिकको सुरक्षा, समुदायसँग विश्वास निर्माण र द्वन्द्व प्रभावित बालिकालाई सुरक्षित रूपमा परीक्षामा सहभागी गराउन नेपाली शान्ति सैनिकहरूले खेलेको भूमिकाको अन्तर्राष्ट्रिय जगत्बाट प्रशंसा भएको छ । द्वन्द्वग्रस्त मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (मोनुस्को) मा नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रविन थापा नेतृत्वमा महिलाको सुरक्षा र शान्ति स्थापनाका लागि चालिएका कदमहरूको अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको छ । राष्ट्रसङ्घीय शान्ति स्थापनासम्बन्धी विवरणहरू सार्वजनिक गर्ने निकाय ‘युनाइटेड नेसन पिस किपर’ ले सार्वजनिक गरेको विवरणमा ‘महिला, शान्ति तथा सुरक्षा’ (वुमन, पिस एन्ड सेक्युरिटी) प्रोफाइलमा ‘कन्टिन्जेन्ट कमान्डर’ का रूपमा थापाको भूमिकाको उच्च प्रशंसा गरिएको हो ।
थापा नेतृत्वको टोलीले कङ्गोका विभिन्न युद्धग्रस्त क्षेत्रमा महिला शान्ति सैनिकलाई नियमित गस्ती, समुदायसँग संवाद, सुरक्षा टोली परिचालन र आपत्कालीन अभियानमा सव्रिmय गराएको भनी अन्तर्राष्ट्रिय रूपमा प्रशंसा गरिएको छ । कङ्गोमा यसै हप्ता हिंसात्मक घटनापछि संयुक्त राष्ट्रसङ्घीय आधार शिविरमा सुरक्षा खोज्दै पुगेका नागरिकको संरक्षणमा थापा नेतृत्वको महिला बटालियन तत्काल परिचालन भई गस्ती, पेट्रोलमार्फत सुरक्षाव्यवस्था तत्कालै सुदृढ पारेको जनाइएको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा सुरक्षा जोखिममा रहेका महिला र बालबालिकाको उल्लेख्य उपस्थिति रहेको र महिला शान्ति सैनिकहरूले विशिष्टीकृत सुरक्षा रणनीति अपनाउँदै किशोरी तथा छात्राको जीवन रक्षाका लागि सफल अपरेसन गरेको भनी संयुक्त राष्ट्रसङ्घले समेत प्रशंसा गरेको छ । थापा नेतृत्वको उक्त महिला शान्ति सैनिक बटालियनले स्थानीय महिलासँग प्रत्यक्ष संवाद गर्न सक्ने महिला शान्ति सैनिकहरू तयार गरी समुदायका समस्या, सुरक्षा चुनौती र सम्भावित जोखिमबारे तत्कालै जानकारी सङ्कलन गरेको जनाइएको छ ।
महिला शान्ति सैनिकहरूले प्रभावित समुदायसँग विश्वास निर्माण गर्न र नागरिकका आवश्यकता अनुसार सुरक्षा गतिविधि सञ्चालन गर्नसमेत सहयोग गरेको उल्लेख गरिएको छ । द्वन्द्वका बेला उच्च सुरक्षा चुनौतीबिच विद्यार्थीलाई परीक्षामा सहभागी गराउने अभियानमा पनि महिला शान्ति सैनिकले सहयोग गरेका र त्यस क्रममा नौ जना छात्रासहित विद्यार्थीलाई परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा पु¥याइएको जनाइएको छ । यसले शान्ति स्थापना सशस्त्र उपस्थिति र सुरक्षा गस्तीमा मात्र सीमित नभई शिक्षा, नागरिकको दैनिक जीवन र अवसरको सुरक्षासँग समेत जोडिएको देखाएको जनाइएको छ । यो अभ्यासले द्वन्द्व प्रभावित क्षेत्रमा बालिका तथा महिलाको सुरक्षित आवागमन र शिक्षामा पहुँच सुनिश्चित गर्न तथा शान्ति स्थापनामा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव खेल्न सक्ने जनाइएको छ । राष्ट्रसङ्घले शान्ति मिसनमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिँदै आएको छ । महिला शान्ति सैनिकको सहभागिताले स्थानीय महिला तथा बालिकाका सुरक्षा आवश्यकता पहिचान गर्न, समुदायसँगको सम्बन्ध सुदृढ बनाउन र द्वन्द्व प्रभावित नागरिकसम्म पहुँच विस्तार गर्न सहयोग पुग्ने राष्ट्रसङ्घले जनाएको छ ।
नेपाल अग्रस्थानमा
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल विभिन्न शान्ति मिसनमा २९७ महिला शान्ति सैनिक कार्यरत छन् । यो ‘कन्टिन्जेन्ट’ मा खटिएका नेपाली शान्ति सैनिकको कुल सङ्ख्याको ७.४५ प्रतिशत हो । नेपालले यसलाई १० प्रतिशतभन्दा बढी पु-याउने लक्ष्य राखेको छ ।
त्यसै गरी सैन्य पर्यवेक्षक, स्टाफ अफिसर तथा मिलिटरी लियाजन अफिसरतर्फ आठ जना महिला कार्यरत रहेका निर्देशनालयले जनाएको छ । उक्त समूहमा महिला सहभागिता ८.७९ प्रतिशत रहेको छ । द्वन्द्वग्रस्त मुलुक कङ्गो मिसनमा नेपाली उपस्थिति र नेतृत्वमा भएका गतिविधिले महिला शान्ति सैनिकलाई सुरक्षा अभियानमा सव्रिmय जिम्मेवारी दिँदा नागरिक संरक्षण, समुदायसँगको विश्वास र द्वन्द्व प्रभावित महिला तथा बालिकाको सुरक्षामा योगदान पुग्ने देखाएको युएन पिस किपर्सले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया