काठमाडौं : पछिल्लो पाँच वर्षमा अनुशासन उल्लंघनको आरोपमा एक हजार ४८३ सैनिक कारबाहीमा परेका छन् । नेपाली सेनाभित्र अनुशासन तथा आचरण उल्लंघनदेखि भगौडा, हातपात, सरकारी कागजात हराउने, सम्पत्तिमा हानि–नोक्सानी पुर्याउने र ठगीजस्ता कसुरमा सैनिकमाथि कारबाही भएको छ । रक्षा मन्त्रालयका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा नेपाली सेनाका एक हजार ४८३ सैनिक कारबाहीमा परेका हुन् ।
नेपाली कांग्रेसका सांसद निश्कल राईले संसद् सचिवालयमार्फत रक्षा मन्त्रालयलाई लिखित रूपमा प्रश्न गरेका थिए । ‘नेपाली सेना भन्नेबित्तिकै अनुशासन र चेन अफ कमान्डभित्र अनुशासित संगठन भनेर बुझिन्छ । तर पछिल्ला वर्षमा त्यही अनुशासित संगठन नेपाली सेनाभित्र पनि अनुशासनहीनता बढ्दै गएको छ भन्ने सुनिन्छ । के यो सत्य हो ?’ राईको प्रश्न थियो, ‘तथ्य र तथ्यांकले के भन्छ ? पछिल्लो पाँच आर्थिक वर्षमा (आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म) नेपाली सेनाभित्र कतिजना सैनिक कारबाहीमा परे ? र के कसुरमा उनीहरूमाथि कारबाही गरिएको हो ?’
यो प्रश्नको उत्तर रक्षा मन्त्रालयले संसद् सचिवालयमा पठाएको छ । जसमा ‘श्री सैनिक अभियोजन निर्देशनालयबाट प्राप्त विवरण’ भनेर विभागीय सजाय तथा सैनिक अदालतबाट कारबाहीका लागि सैनिक व्यक्तिविरुद्ध दायर भएका अभियोगपत्रको एकमुष्ट विवरण समेटिएको छ । जसभत्रि अनुशासन तथा आचरण उल्लंलन, हातपात, गयल, भगौडा, सरकारी कागजात हराएको, अवज्ञा, सम्पत्तिमा हानि–नोक्सानी, हतियार तथा अन्य सरसामान हराएको, ठगी, हत्या, झुटा व्यहोरा र कीर्तेजस्ता कसुर उल्लेख छन् ।
रक्षा मन्त्रालयले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७/७९ मा २९९ सैनिकमाथि कारबाही भएको थियो । त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा कारबाहीमा पर्ने सैनिकको संख्या २५१ थियो । आर्थिक वर्ष २०८०/८१ मा २३३ सैनिकमाथि कारबाही भएको देखिन्छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ३२७ र २०८२/८३ मा ३३३ सैनिक कारबाहीमा परे । तथ्यांकमा पछिल्ला दुई आर्थिक वर्षमा कारबाहीमा पर्ने सैनिकको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८२/८३ मा कारबाहीमा पर्ने सैनिकको संख्या ८२ ले बढी छ ।
सैनिकमाथि विभिन्न प्रकृतिका कसुरमा कारबाही भएको छ । आचरण उल्लंघन पछि भगौडा धेरै छन् । आचरण उल्लंघनमा ६५० कारबाहीमा पर्दा ४०२ जना भगौडा छन् ।
गयल २२८, सम्पत्ति सम्बन्धी कसुरमा ४७, हातपात गर्ने ४३ र निर्देशनको अवज्ञा गर्ने २६ छन् । सरकारी कागजात हराएको आरोपमा १२ जना, सम्पत्ति हानि–नोक्सानीमा नौजना, हतियार तथा अन्य सरसामान हराउने १३ जना, गोलीगठ्ठा हराउने पाँचजना, ढाटछल गर्ने दुईजना र कीर्तेको आरोपमा तीनजना कारबाहीमा परेका छन् । ठगी, हत्या र झुटा व्यहोरा उपलब्ध गराएको कसूरमा एक/एकजना कारबाहीमा परेका छन् ।
नेपाली सेनामा अनुशासन कायम राख्न सैनिक ऐन २०६३, सैनिक सेवा नियमावली २०६९ अनुसार विभागीय सजाय र सैनिक अदालतमार्फत कारबाही हुने गरेको छ । सामान्य अनुशासनहीनता, आचारसंहिता उल्लंघन वा चेन अफ कमान्डविपरीतका साना त्रुटिमा विभागीय कारबाही हुन्छ । यसमा नसियत दिने, तलब रोक्का गर्ने, बढुवा रोक्का गर्ने वा सेवाबाट हटाउनेसम्मका सजाय हुन सक्छन् ।
सैनिक अदालतले गम्भीर किसिमका सैनिक कसुरहरू हेर्छ । भगौडा हुने, युद्धसम्बन्धी कसुर, हतियार वा सरकारी सम्पत्तिको दुरुपयोग, आदेशको गम्भीर अवहेलनामा सैनिक अदालतबाट कारबाही हुन्छ ।
सैनिक अदालतले कसुरको प्रकृति हेरी कैद, जरिवाना वा कोर्ट मार्सलद्वारा सेवाबाट बर्खास्त गर्नेसम्मको सजाय तोक्न सक्छ ।
सैनिक आचारसंहिताअन्तर्गत अनुशासनलाई कडाइका साथ पालना गराउन नेपाली सेनाले सैनिक आचारसंहिता २०७६ लागू गरेको छ । यसले सेवारत तथा अवकाशप्राप्त सैनिकहरूका लागि आचरणसम्बन्धी नियम तय गरेको छ । जसको उल्लंघन गरे कारबाहीमा पर्न सक्छन् । मध्यान्ह
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया