कार्तिक ११, २०८३ बुधबार October 28, 2026

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर, ११ कात्तिकः गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ ।

धान खेतीका लागि वर्षभरि मेहनत गरेका किसानलाई बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता परेको छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवा बाहिरिएपछि किसानलाई मर्का परेको छ ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट बोकेर खलोमा पु¥याउने, झाँट्ने, बत्ताउने र घरसम्म बोकेर लैजाने काममा शारीरिक रूपमा बलियो जनशक्ति आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई समस्या भएको स्थानीय किसानको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी तथा सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति अभाव हुँदै गएको बताउनुभयो । पहिले गाउँघरमै पर्याप्त जनशक्ति पाइने गरेकामा अहिले धान थन्क्याउने समयमा कामदार खोज्न मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

“गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पु¥याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।

हतुवागढी गाउँपालिका–२ लुङ्गिनका स्थानीय किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । युवा जनशक्ति गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

शारीरिक श्रम बढी लाग्ने भएकाले महिला र ज्येष्ठ नागरिकलाई कठिन हुने गरेको किसान बताउँछन् । जनशक्ति अभावमा परिवारकै सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न समय लाग्ने गरेको छ ।

परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने चलन रहे पनि पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको छ । पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसानले थप समस्या झेल्नुपरेको किसानको भनाइ छ ।

स्थानीय सरकारले युवालाई गाउँमै राख्न सक्दो पहल गर्नुपर्ने र आधुनिक कृषि प्रणाली अबलम्बन गर्न प्रेरित गर्नुपर्ने स्थानीय किसानको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार