कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद

न्यायाधीशले बिचौलियासँग कुरा गर्नु अक्षम्य अपराध भएको वरिष्ठ अधिवक्ता बाबुराम दाहालको टिप्पणी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । कारागारमा रहेका विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहका सदस्यहरूको विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको ‘सन्देहपूर्ण सम्बन्ध’ देखिएको छ । नयाँ पत्रिकाले प्राप्त गरेको उनीहरूबिचको ह्वाट्सएप म्यासेजमा फुयालले भट्ट समूहका व्यक्तिलाई आफूहरूले धरौटीमा छाडेको उल्लेख गरेका छन् । उनले सापकोटालाई होटेलमा भेटेको पनि संवादबाट खुल्छ ।

बिचौलिया सापकोटाको ‘मिस्डकल’को जवाफ दिँदै न्यायाधीश फुयालले लेखेका छन्– मैले यो ढिलो देखेँ । उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ । गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उनले सापकोटालाई म्यासेज गरेका छन् ।

विशेष अदालतको निर्णय उल्ट्याउँदै फुयाल र अर्का न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले गत १७ भदौमा गुप्तालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । त्यही दिन फुयाल र बिचौलिया सापकोटाबिच यो संवाद भएको स्रोतको दाबी छ । विशेषले २८ साउनमा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । यो आदेश बदरको माग गर्दै उनी सर्वोच्च पुगेका थिए ।

त्यही संवादका क्रममा फुयालले बिचौलिया सापकोटालाई होटेलमा भेट्न पनि प्रस्ताव गरेका छन् । उनले भनेका छन्– भोलि साँझ ७ बजे हिमालय होटेलमा भेटौँ । जवाफमा सापकोटाले भनेका छन्, ‘स्योर सर, चिन्ता नगर्नुस् म भर्खर ल्यान्ड भएको छु ।’ विवादास्पद कारोबारी भट्टको समूहको मुद्दाका विषयमा कुराकानी गर्न उनीहरूबिच भेट भएको स्रोतको दाबी छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हिमालय होटेलबाट फुयाल र सापकोटाबिच भेट भएको समयको सिसिटिभी फुटेजसमेत मगाएर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ । तर, राजनीतिक नेतृत्वबाट भने सहयोग नभएको प्रहरी अधिकारी बताउँछन् ।

स्रोतका अनुसार न्यायाधीश फुयाल र बिचौलिया सापकोटाबिच कुराकानी भएको केही दिनमै भट्ट पनि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए । बुवा चतुर्भुज भट्टले गत ७ असोजमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । भोलिपल्ट ८ असोजमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको सो मुद्दा त्यसपछि सुनुवाइका लागि पेस भएको छैन । भट्टविरुद्ध धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न भएको अधियोगमा विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् । सरकारले उनीविरुद्ध २७ अर्बभन्दा धेरै सम्पत्ति कसुरजन्य कार्यबाट आर्जन गरेको अभियोगसहित बिगो दाबी गरेको छ । हिमालय रि–इन्सुरेन्स भट्ट र उनको समूहले घोटाला गरेको प्रमुख कम्पनीमध्येको एक हो, जसमा गुप्ता पनि पूर्वसञ्चालक थिए ।

भट्ट र उनको समूहका विचाराधीन मुद्दामा प्रतिवादीलाई सुविधा हुने गरी चलखेल गरेको सूचनाका आधारमा बिचौलिया सापकोटालाई प्रहरीले गत १४ असोजमा विमानस्थलबाट पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धानको क्रममा न्यायालयभित्र र बाहिरका उच्चपदस्थहरूसँग शंकास्पद सम्बन्ध देखिएको छ । अदालतमा विचाराधीन मुद्दाको विषयमा न्यायाधीश फुयाल र सापकोटाबिच कुराकानी भएको र होटेलमा भेटेको देखिन्छ । सापकोटाको मोबाइलबाट चलखेल र शंकास्पद कारोबारका विवरण भेटिएको प्रहरी स्रोत बताउँछ । सोही आधारमा प्रहरीले लगानी बोर्डका पूर्वसिइओ रहेका दीपक भट्टका दाइ सुशील भट्टलाई पनि पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिलीप घिमिरेले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताए । ‘विशेष टोली नै गठन गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान नटुंगिएसम्म यससम्बन्धी विवरण गोप्य नै रहन्छन् ।’

उपत्यका प्रहरी कार्यालयका एसपीको नेतृत्वमा टोली गठन गरी सापकोटा र उनको नेटवर्कमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको घरबाट भेटिएको एक हजार चार सय अमेरिकी डलरको स्रोत नखुलेकाले त्यसमा नेपाल राष्ट्र बैंक ऐन आकर्षित हुन लागेको हो । साथै उनी र श्रीमती कविता पाण्डेको खातामा शंकास्पद आर्थिक कारोबारहरू भेटिएपछि उनीहरूका बैंक खाता रोक्का राखिएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर सापकोटाले अदालतका विचाराधीन मुद्दामा चलखेल गरेको अभियोग छ । गत ११ असोजमा प्रहरीले जबरालाई समेत नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । पछि सापकोटालाई भने थुनामै राखेर अनुसन्धान अघि बढाएको हो । उनको नेटवर्कमा रहेका धेरै व्यक्तिलाई सोधपुछमा बोलाउने प्रहरी तयारी छ । दबाबमुक्त अनुसन्धान भएमा यसमा धेरै उच्चपदस्थहरू तानिने संकेत देखिएको प्रहरी अधिकारी बताउँछन् । इनमसँगको शंकास्पद सम्बन्ध र गोप्य सूचनाहरू चुहाएको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई गत २० असोजमा सेवाबाट हटाउने निर्णय गरेको थियो ।

न्यायाधीशले बिचौलियासँग विचाराधीन मुद्दाको विषय जानकारी दिनु र होटेलमा भेटेर थप कुरा गर्ने प्रस्ताव गर्नु न्यायिक आचरणविपरीत देखिन्छ । न्यायाधीशहरूको आचारसंहिता २०७४ को बुँदा ४.३ मा भनिएको छ, ‘न्यायाधीशले न्याय सम्पादनमा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि व्यक्तिसँग अनावश्यक रूपमा सम्बन्ध वा सम्पर्क बढाउनुहुन्न ।’ तर, फुयाल आफैँले मुद्दामा चलखेल गरिरहेका बिचौलिया सापकोटालाई भेट्न प्रस्ताव गरेका थिए । अनुसन्धानका क्रममा रहेको विषय भन्दै उनले यसबारे औपचारिक प्रतिक्रिया दिन चाहेनन् ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहालले न्यायाधीशले बिचौलियासँग कुरा गर्नु अक्षम्य अपराध भएको बताए । ‘सर्वोच्चका न्यायाधीशले त्यसरी बिचौलियासँग कुरा गरेको हो भने सिधै बदमासी देखियो । न्यायाधीशले कुनै पनि पक्षसँग मुद्दाको विषयमा कुरा गर्न मिल्दैन । यसको तत्काल छानबिन हुनुपर्छ र छानबिन नसकिएसम्म त्यस्ता न्यायाधीश(लाई निलम्बन गर्नुपर्छ । यो अक्षम्य र गम्भीर अपराध भएकाले न्यायाधीश पदमा बस्न उपयुक्त हुँदैन,’ उनले भने, ‘न्यायालयलाई स्वच्छ र पवित्र बनाउने हो भने तत्काल फुलकोर्टको यसमा ध्यानाकर्षण हुनुपर्छ र गोला तान्न दिनुहुन्न । अन्य न्यायाधीशले छानबिन नसकिएसम्म बेन्च सेयर पनि गर्नुहुन्न । संसद्को पनि यसमा ध्यानाकर्षण हुनुपर्छ ।’

नेपाल बारका अध्यक्ष विजयकुमार मिश्रले सरकारले न्यायपालिकालाई भ्रष्टाचारविहीन बनाउन चाहेको हो भने आफूहरूको साथ–सहयोग रहने बताए । ‘इनम सापकोटाको अहिले धेरै कुरा आइरेहको छ । यदि सरकारले न्यायपालिकालाई भ्रष्टाचारविहीन बनाउन चाहेको हो भने त्यसमा हाम्रो समर्थन रहेको छ । तर, यो सुशासनतर्फको कदम हो कि स्टन्टबाजी हो प्रस्ट हुन सकेको छैन,’ उनले भने, ‘कुनै न्यायाधीशको विषयमा प्रमाण नहेरी हामीले बोल्न मिलेन । तर, न्यायपालिकालाई बिचौलियामुक्त बनाउनुपर्ने खाँचो भने छ । त्यसकारण इनम र न्यायापालिकासँग जोडिएका विषयमा क–कसको सम्पर्क देखिएको छ निष्पक्ष रूपमा अनुसन्धान हुन्छ भन्नेमा हामी आशावादी छौँ । खन्डे र चयनमुखी अनुसन्धान हुनुभएन ।’

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले न्यायपालिका छाडा भएको बताए । ‘पछिल्लो समय न्यायपालिका छाडा भएको छ । निगरानी गर्ने संयन्त्र छैन । त्यहीकारण यस्ता गतिविधि भएका हुन सक्छन्’, उनले भने, ‘राजनीतिक दलहरूबाट पनि न्यायपालिकामाथि प्रहार भएको छ । राजनीतिक आडमै गलत व्यक्ति न्यायाधीश नियुक्ति भएर नेतृत्वसम्म पुगेका छन् । न्यायपालिकाको व्यवस्थापन कसले गर्ने भन्ने अहिले प्रश्न खडा भएको छ । यसमा राज्य गम्भीर हुने वेला आइसकेको छ ।’

जेलदेखि न्यायालयसम्मको नेटवर्क खोजी हुँदै

नयाँ सरकार गठन भएलगत्तै विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहले गरेको आर्थिक अपराधको छानबिन सुरु भएको थियो । जसमा हालसम्म ६ वटा मुद्दा दायर भइसकेका छन् । भट्ट, उनलाई साथ दिने शंकर ग्रुपलगायत व्यापारी यसमा तानिएका छन् । सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बिमासम्बन्धी कसुर र धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।

विगतका शक्तिशाली व्यक्तिमाथि मुद्दा दायर भएपछि उनीहरूले अदालतलाई प्रभाव पारी उन्मुक्ति पाउने प्रयास गरेका थिए । जसमा बिचौलिया इनम सापकोटाले समन्वय गरेको हालसम्मको अनुसन्धानले देखाएको छ । आर्थिक लेनदेनका विषयसमेत देखिएपछि दीपकका दाइ सुशीललाई गत ३१ असोजमा प्रहरीले पक्राउ गरेर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । यस प्रकरणमा दीपकसहित शंकरलाल अग्रवाल, सुलभ अग्रवाललगायत थुनामा छन् । शेखर गोल्छालगायत कतिपय व्यापारी धरौटीमा छुटेका छन् भने केही अझै फरार छन् ।

विगतमा सत्ताको आडमा यो समूहले देशमा नीतिगत रूपमै वित्तीय अपराध गरेको थियो । ती मुद्दालाई आफूअनुकूल बनाउन सो समूहले बिचौलिया सापकोटादेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत व्यक्तिसँग कुराकानी गरेको छानबिनमा खुलेको छ । दीपकले जेलबाटै चलखेल गरेको पाइएपछि उनलाई डिल्लीबजारबाट नक्खु कारागार हुँदै हाल सिन्धुपाल्चोक कारागार पठाइएको छ । उता प्रहरीले इनमको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएर ‘सेटिङ’ र शंकास्पद कारोबारको विस्तृत प्रमाण संकलन गरिरहेको छ ।आजको नयाँपत्रिका दैनिकबाट

null

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार