कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सुध्रिएनन् पुराना दल, मधेशमा फेरि सत्ता जोडघटाउ

कांग्रेस नेतृत्वको सरकारमा १५ सांसदसहित सहभागी नेकपाले समर्थन कायमै राखे पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत जुटाउन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : मधेश प्रदेश सरकारमा फेरि सत्ता जोडघटाउ सुरु भएको छ । गत ३० असोजमा नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरियो । त्यसपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्‍यो ।

यसबीचमा एकातिर विश्वासको मत जुटाउन कांग्रेसबाट मुख्यमन्त्री बनेका यादवको दौडधुप चलिरहेको छ । अर्कोतिर एमाले र जसपा नेपाल नयाँ समीकरणको गृहकार्यमा छन् ।
ठुलो दलको नेतृत्वमा सरकार बनाउने दाबी र आफ्नै दलको नेता मुख्यमन्त्री बनाउने कांग्रेसको चाहनाबीच मधेशको राजनीति फेरि सत्ता जोडघटाउमा केन्द्रित भएको हो ।

राजनीतिक सत्ता जोडघटाउमा केन्द्रित भएको र जनताको मुद्दा ओझेलमा परेको भनेर नवयुवा पुस्ताले गत वर्ष भदौ २३ र २४ मा आन्दोलन गरेका थिए । उक्त आन्दोलनका मागहरूमध्ये एक राजनीतिक स्थिरता पनि थियो । त्यस चाहनालाई मतदाताले २१ फागुन २०८२ को प्रतिनिधिसभामा चुनावमा प्रकट गरे । संघमा रास्वपा एक्लैको एक सिट कम दुईतिहाइ बहुमतको सरकार छ ।

प्रदेश र स्थानीय तहमा भने २०७९ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै छन् । नवयुवा पुस्ताले राजनीतिक स्थिरता खोजेर पुराना दलका उम्मेदवारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कम संख्यामा मात्रै जिताएको देख्दा देख्दै पुराना दलहरू प्रदेश सरकारमा सत्ता जोडघटाउमा केन्द्रित हुने प्रवृतिबाट टाढा जान सकेका छैनन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा २७ सिटसहित जसपा नेपाल सबैभन्दा ठुलो दल हो भने २३ सिटसहित एमाले दोस्रो ठुलो दल हो । कांग्रेसका २२ र नेकपाका १५ सांसद छन् । जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन् ।

मधेशको नयाँ सत्ता समीकरणमा जनमत पार्टी र नेकपाको भूमिका महत्त्वपूर्ण देखिन्छ । प्रदेशसभामा १२ सांसद रहेको जनमत पार्टीले जसपा नेपालको नेतृत्वमा सरकार बनेमा समर्थन गर्न सक्ने चर्चा छ । तर, जनमत पार्टीका प्रदेश सांसद चन्दन सिंहले सरकार गठनबारे पार्टीभित्र औपचारिक छलफल नभएको बताएका छन् ।

अहिले सरकारमै रहेको नेकपाले पनि आफ्नो धारणा स्पष्ट पारिसकेको छैन । कांग्रेस नेतृत्वको सरकारमा १५ सांसदसहित सहभागी नेकपाले समर्थन कायमै राखे पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत जुटाउन थप सांसद आवश्यक पर्छ ।

नेकपा वर्तमान सरकारमै रहन्छ वा एमाले, जसपा नेपाल र जनमत पार्टीसँग मिलेर नयाँ गठबन्धनमा सहभागी हुन्छ भन्ने विषयले सरकारको भविष्य निर्धारण गर्नेछ ।

मधेश प्रदेशमा अहिलेको सत्ता संकटको तत्कालीन कारण एमालेले १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै समर्थन फिर्ता लिनु हो । बजेट विनियोजन, विकास निर्माण, मन्त्रालयको संख्या, कर्मचारी व्यवस्थापन र आर्थिक सुशासनजस्ता विषय सहमतिमा समेटिएका थिए ।

तर, सहमति कार्यान्वयनबारे एमाले र सरकारमा रहेका कांग्रेस तथा नेकपाका नेताहरूको दाबी फरक छ । एमालेले सरकारले सहमतिअनुसार काम नगरेको बताएको छ भने कांग्रेस र नेकपाका नेताहरूले अधिकांश विषय कार्यान्वयन भइसकेको वा प्रक्रियामा रहेको दाबी गरेका छन् ।

यसरी सहमति कार्यान्वयनको विवादले सुरु भएको सत्ता संकट अहिले नयाँ सरकार गठनको जोडघटाउमा पुगेको हो । मधेश प्रदेशको पहिलो कार्यकालमा जसपा नेपालका नेता लालबाबु राउतले पाँच वर्ष सरकारको नेतृत्व गरेका थिए । दोस्रो कार्यकालमा भने मुख्यमन्त्री र सत्ता गठबन्धन पटकपटक फेरिएका छन् ।

सरकार परिवर्तन भए पनि राजनीतिक अस्थिरता, गठबन्धनभित्रको अविश्वास र सहमति कार्यान्वयनको समस्या दोहोरिइरहेको छ । यसले प्रदेश सरकारको स्थायित्व र जनताप्रतिको जवाफदेहितामाथि प्रश्न उठाएको छ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार