काठमाडौं । प्रहरी नियन्त्रणमा परेका सबै पत्रकारहरू रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पक्राउ परेका पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन्।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै लेखेका छन्, “पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।”
यसअघि प्रधानमन्त्रीको सचिवालयले भने उक्त घटनाबारे प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारी नभएको र संलग्नता समेत नरहेको स्पष्ट पारेको थियो।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल छाड्न र समाचार कक्षमा धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेका थिए।
प्रहरीले ‘नेपाल प्रेस डटकम’का पत्रकार विश्वमणि सुवेदी, ‘डिएनए खबर’का प्रधानसम्पादक धीरज बस्नेत र ‘मोटिभेट न्युज’का प्रधानसम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको थियो। यस्तै, ‘नयाँ पत्रिका दैनिक’ का पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न पुगेको सादा पोसाकको प्रहरी टोली करिब साढे दुई घण्टा कार्यालयमै बसेर फर्किएको छ। प्रहरीले भोलिपल्ट बिहान १० बजे मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन सम्पादक खगेन्द्र पन्तलाई मौखिक निर्देशन दिएर छाडेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया