काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै पार्टीबीचको एकतालाई औपचारिकता दिन यही कात्तिक १७ गते विशेष एकता सभा आयोजना गरिने भएको हो।
एकता घोषणा सभा कात्तिक १७ गते दिउँसो १ बजे काठमाडौंको कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने तय भएको छ। विशेष कार्यक्रममार्फत दुवै पार्टीबीचको एकता औपचारिक रूपमा घोषणा गरिने जनाइएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएपछि उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यसहित दुई पार्टीबीच एकता हुन लागेको बताइएको छ। यस एकतापछि भुजेल नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनेछन्।
पछिल्लो समय विभिन्न कम्युनिस्ट घटकबीच एकता र ध्रुवीकरणको प्रयास भइरहेका बेला हुन लागेको यस एकतालाई नेपालको कम्युनिस्ट राजनीतिमा संगठन विस्तार र राजनीतिक सहकार्यको नयाँ घटनाक्रमका रूपमा हेरिएको छ।
एकता घोषणासँगै दुवै पार्टीका नेता तथा कार्यकर्तालाई एउटै संगठनात्मक संरचनामा समेट्ने र आगामी राजनीतिक गतिविधिलाई संयुक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया