कार्तिक २८, २०८३ शनिबार November 14, 2026

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

प्रवास तथा देशका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २७ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ ।

आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को आज गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत पठनपाठन, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधार गर्ने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपन्न, भौगोलिक रूपमा विकट तथा पहुँचबाहिरका स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालनमार्फत सिकाइ उपलब्धि बढाउने लक्ष्य राखिएको छ । प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर सुधार गरी अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजानुपर्ने बाध्यता कम गर्नु पनि महायज्ञको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

महायज्ञबाट रु तीन करोड सङ्कलन र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो । महायज्ञ सुरु हुनुअघि नै रु ४० लाखभन्दा बढी सहयोग घोषणा भइसकेको उहाँले जानकारी दिनुभयो । प्रवास तथा देशका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

महायज्ञमा भागवत पाठ–पारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती र झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १९६ विद्यार्थी अध्ययनरत छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयमा विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु प्रमुख शैक्षिक चुनौती बनेको उल्लेख गर्दै दीपशिखा माविले अघि सारेको स्मार्ट तथा आवासीय विद्यालयको अवधारणा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयको अभियानलाई प्रदेश तहबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महायज्ञ सुरु हुनुअघि कुहुँदेखि टोड्के हुँदै पूर्णगाउँ भएर पुनः कुहुँसम्म कलशयात्रा गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार