काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई भ्रमणका क्रममा नेपालको हित र दुई देशबीचको सम्बन्ध विस्तारलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाह र चीन भ्रमणमा जान लागेका रास्वपा सांसदहरूबीच भ्रमणको उद्देश्य र त्यसबाट नेपालले लिन सक्ने लाभका विषयमा छलफल भएको हो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले चीन भ्रमणलाई केवल घुमफिरमा सीमित नराखी नेपालको आर्थिक तथा विकाससम्बन्धी हितका क्षेत्रमा केन्द्रित गर्न निर्देशन दिएको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीले चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायत क्षेत्रमा लाभ लिन सक्ने सम्भावनाबारे अध्ययन र पहल गर्न सुझाव दिएका छन् ।
बुर्लाकोटीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ । उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिन सक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ । चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लाभ लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”
रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेताहरू यही कात्तिक २९ गते १० दिने भ्रमणका लागि चीन प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा चीनसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने र विभिन्न क्षेत्रमा सहकार्य तथा सहयोगका सम्भावना पहिचान गर्ने विषयलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीसँगको छलफलले भ्रमणलाई नेपालको राष्ट्रिय हित, आर्थिक विकास र दुई देशबीचको आपसी सहकार्यसँग जोडेर अघि बढाउन सांसदहरूलाई मार्गदर्शन गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया