काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको जनाएको हो।
दुर्घटनाको वास्तविक कारण पहिचान गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्न समितिलाई सात दिनको समयसीमा दिइएको छ।
सरकारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनबमोजिम मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम शीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको कार्यालयले स्पष्ट पारेको छ।
घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिइएको सरकारले जनाएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो।
ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका बासिन्दा हुन् भने चालक कविलासा नगरपालिकाका रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया