काठमाडौँ, २९ कात्तिकः रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् ।
रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् । रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।
यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए । आलमको स्वर्ण पदक अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया