कार्तिक २९, २०८३ आइतबार November 15, 2026

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै

रौतहटका १८ वटै स्थानीय तहसहित बारा, सर्लाहीलगायत मधेस प्रदेशका गाउँ, सहर र बजार छठमय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सञ्जय मिश्रा/रौतहट, २९ कात्तिक । आस्था, श्रद्धा र भक्तिको महापर्व छठअन्तर्गत तेस्रो दिनको मुख्य पूजा अर्थात् साँझको अर्घ्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि रौतहटसहित मधेस प्रदेशका विभिन्न जिल्लाका छठ घाटबाट व्रतालुहरू घर फर्किन थालेका छन् ।

रौतहटका १८ वटै स्थानीय तहसहित बारा, सर्लाहीलगायत मधेस प्रदेशका गाउँ, सहर र बजार अहिले छठमय बनेका छन् । छठ घाटदेखि बस्तीका गल्लीसम्म छठीमाताका भक्तिगीत गुञ्जिरहेका छन् । आकर्षक रूपमा सजाइएका घाटमा व्रतालु तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किएका व्रतालुहरूले आज राति आफ्ना घरमा परम्पराअनुसार कोसिया पूजा गर्नेछन् । विशेषगरी भाकल गरेका परिवारमा कोसिया पूजा गर्ने धार्मिक परम्परा रहेको छ । कतिपय स्थानमा व्रतालुहरू रातभर छठ घाटमै बसेर भजनकीर्तन तथा जाग्राम गर्ने व्यवस्था मिलाइएको छ भने अधिकांश व्रतालु अर्घ्य दिएपछि घर फर्किएका छन् ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

चार दिनसम्म श्रद्धा, निष्ठा र कठोर अनुशासनका साथ मनाइने छठ पर्वको चौथो तथा अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ । बिहानको अर्घ्यसँगै यस वर्षको छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यस महापर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

खरनापछि सुरु हुने निर्जला व्रत छठको सबैभन्दा कठिन पक्ष मानिन्छ । व्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बसेर सूर्यदेव र छठी माताको आराधना गर्छन् ।

ठेकुवादेखि फलफूलसम्मका सामग्रीले भरिए घाट

छठ पूजामा ठेकुवा, भुसुवा, नरिवल, उखु, अदुवा, मुला, कागती, गागल, स्याउ, सुन्तला, बेसारलगायतका सामग्री प्रसादका रूपमा चढाइन्छन् । बाँसका डालो र सुपलीमा सजाइएका प्रसाद सामग्रीले छठ घाटलाई थप आकर्षक बनाएका थिए ।

धार्मिक विश्वासअनुसार सूर्यदेव र छठी माताको आराधना गर्दा परिवारमा सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ । मनोकामना पूरा हुने तथा परिवारको कल्याण हुने आस्थाका साथ महिला र पुरुष दुवैले छठको कठोर व्रत बस्ने गरेका छन् ।

धार्मिक आस्थासँगै सामाजिक एकताको पर्व

छठ केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन । यो सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानको समेत प्रतीक हो । छठ घाटमा जात, धर्म, वर्ग र आर्थिक अवस्थाको भिन्नताभन्दा माथि उठेर सबै समुदायका मानिस एकै ठाउँमा भेला हुन्छन् ।

घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनमा स्थानीय युवा, सामाजिक संघसंस्था र सर्वसाधारणको सामूहिक सहभागिता देखिन्छ । रोजगारी, अध्ययन तथा अन्य कारणले घरबाहिर रहेका मानिससमेत छठ मनाउन गाउँघर फर्किने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ ।

विशेषगरी तराई–मधेसको मौलिक पहिचानसँग जोडिएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।

प्रकृति र वातावरण संरक्षणको सन्देश

सूर्यलाई जीवन र ऊर्जाको प्रमुख स्रोतका रूपमा पूजा गरिने छठ पर्वले प्रकृति, जल र वातावरणको महत्त्वसमेत उजागर गर्छ । जलाशयको किनारमा उभिएर सूर्यको उपासना गर्ने परम्पराले स्वच्छ पानी र सफा वातावरणको आवश्यकतालाई स्मरण गराउँछ ।

यद्यपि, पर्वका क्रममा नदी, पोखरी तथा जलाशयमा प्लास्टिक र पूजासामग्री जथाभावी फालिने समस्या पनि देखिने गरेको छ । त्यसैले छठको धार्मिक पवित्रतासँगै वातावरण संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ ।

अस्ताउँदो सूर्यलाई पनि उदाउँदो सूर्यसरह श्रद्धा र सम्मानका साथ अर्घ्य अर्पण गरिने छठ पर्वले जीवनमा हरेक अवस्थाको समान महत्त्व हुने सन्देश दिन्छ । यही विशिष्ट धार्मिक, सांस्कृतिक र सामाजिक विशेषताले छठलाई मधेसको मात्र नभई समग्र नेपाली समाजकै महत्त्वपूर्ण पर्वका रूपमा स्थापित गरेको छ ।- न्युजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
२०८३ कार्तिक २९, आइतबार