महोत्तरी, ३० कात्तिक: बर्दिबास-२ अस्पतालचोकमा यसपटक घरघरैजसो छठघाट बने । यसै चोकका देवनारायण महतोले घरअगाडि छठघाटकै लागि सानो पोखरी नै बनाउनुभएको छ । पछिल्ला तीनवर्षयता आफ्नै आँगनमा घाट बनाएर छठ मनाउँदै आउनुभएका उहाँले निर्मित सानो पोखरीमा रातु नदीको कुलोबाट पानी भरेपछि नुहाउन र अर्घ दिने प्रयोजनमा सहज बनेको बताउनुभयो ।
“नदी निकै टाढा छ, घरपायक पर्ने पोखरीका घाटमा ठाउँ पाउँन छोड्योे”, महतोले भन्नुभयो, “यसरी घरआँगनमै घाट बनाएपछि परिवारका सबै एकै ठाउँमा रही अर्घमा सहभागी हुन पाइयो, अब सधैँलाई ढुक्क भयो ।” महतोजस्तै बर्दिबास-२ कै छिमेकी उपेन्द्र महतो, बुधन महतो, पवि रेग्मी, भरत ठाकुर र वीरेन्द्र झाले पनि आफ्नै घरआँगनमा छठघाट बनाएर पर्व मनाउन थाल्नुभएको छ ।
बर्दिबास बजार क्षेत्रमात्र नभएर यसै नगरपालिका क्षेत्रका हाथीलेट, बिजलपुरा, मेघरोल, प्रेमनगर, पशुपतिनगर, किसाननगर र मनहरिपुरसहितका बस्तीका घरआँगनमा छठघाट बनाएर पर्व मनाउनेक्रम ह्वात्तै बढेको देखिन्छ । यसैगरी गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीहरुमा पनि घरआँगनमै छठघाट बनाएर धेरैले पर्व मनाएका छन् ।
“बस्तीको पुछारको पोखरीमा घाट त बन्यो, तर हामीले ठाउँ पाएनाँ”, भङ्गाहा-४ रामनगरकी व्रतालु कञ्चन मुखियाले भन्नुभयो, “घरकै नावर सफा गरेर पानी भरियो, यसपटक यहीँ मनाइयो ।” ग्रामीण क्षेत्रभन्दा सहरीकरण हुँदै गएका बस्तीमा यो क्रम बढेको पाइन्छ । पहिलेजस्तो सामूहिक रुपमा छठ मनाउने चलन क्रमश: हराउँदै गएकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
“पहिले छठघाटको सरसफाइ, साजसज्जा र व्यवस्थापनमा एउटा बस्तीभरिका परिवार सरिक हुन्थे, अब यसकिसिमिको सामूहिकताको चलन हराउँदै गएको छ”, गौशाला-१० लक्ष्मीनियाँका ७५ वर्षीय लक्ष्मीप्रसाद महतो भन्नुभयो, “यस्तै चलन बढ्दै गए एकै टोल-बस्तीका बासिन्दाबीच हेलमेल तथा हार्दिकतामा कमी आउँछ, यसले छठ पर्वको मौलिकता र रौनकता हराउँदै जाने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।”
विशेषगरी सहरीकरणसँगै मिथिला क्षेत्रका नयाँ पुस्ताका युवा-यवतीको व्यस्तता र जलाशयहरुमा ठाउँको अभावले छठघाट घरआँगनमै बन्न थालेको सन्दर्भमा पुराना पुस्ताले भने यसलाई सहज रुपमा लिएको देखिँदैन । गौशाला-१२ पडरियाका बासिन्दा एवं पत्रकार राजीव राय कुर्मीका अनुसार स्थानीय गाउँबस्ती तालतलैया तथा पोखरी लोप हुँदै गएको तथा घरनजिकका पोखरीमा ठाउँको अभाव भएको अवस्थामा बाध्य भई घरआँगनमै छठघाट तयार गरी पर्व मनाउने चलन बढ्दै गएको हो ।
यसपटक बर्दिबास-७ को प्रेमनगर पनि घरमै छठघाट बनाएर छठ पर्व सम्पन्न गरिएको छ । करिब ३०० घरपरिवारको बसोबास रहेको सो बस्तीमा पोखरी नभएको र नजिकको बडहरी नदीमा पानी सुकेकाले आआफ्ना इनार छेउमा छठघाट बनाएर नावरमा भरिएको पानीमा नुहाउने र अर्घ दिने विधि सम्पन्न गरेर पर्व मनाइएको स्थानीय शिक्षक राजवीर महतोले जानकारी दिनुभयो ।
पछिल्ला समय धेरैजसो गाउँठाउँमा पोखरी, जरुवा र नदीका मुहान सुक्नथालेपछि मान्छेलाई छठ मनाउन प्रकृतिले नै नयाँ विकल्प सुझाएको भन्ने भनाइ यस क्षेत्रमा सुन्न पाइन्छ । बर्दिबास-९ पशुपतिनगरका बासिन्दा एवं सञ्चारकर्मी सुरेन्द्रकुमार सिंहले भन्नुभयो, “सबैकुरा समय र परिवेशले सिकाउँदो रहेछ, हामीले अब घरआँगनमै छटघाट बनाएर पर्व मनाउन सिक्यौंँ, हामीले नचाहे पनि अब योक्रम बढ्दै जानेछ ।”
पोखरी र ससाना डबरा सुक्ने र भूल (जरुवा) मासिदै गएपछि पहिलेका सामूहिक छठघाटको परम्परा छुट्दै अब मान्छेले घरघरै छठघाट बनाउने कुरा सिक्दै गएका चुरे तथा जलाधार विज्ञ सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासका अध्यक्ष नागदेव यादवको भनाइ छ ।
स्थानीय बुद्धिजीविहरुका अनुसार तराई मधेसक्षेत्रका परम्परागत नदीनाला तथा ताल लोप हुनथालेसँगै घरपायक छटघाटको अभाव, बढ्दो सहरीकरणसँगै व्यस्त जीवनशैली, सजिलोका लागि वैकल्पिक उपायको खोजी, चाडपर्व, धर्म-संस्कारलाई आत्मसाथ् गरेपनि सामूहिक भेटघाट र बसाइभन्दा पनि घरपरिवारमा रमाउने युवा पुस्ताजस्ता कारण आआफ्नै निवासपरिसरमा छटघाट तयार गर्नेक्रम बढेको तर यसले छठ पर्वको मौलिक पक्ष कमजोर भइ आपसि एकता, सद्भाव र हार्दिकता कमजोर हुनेसक्नेतर्फ सचेत हुन आवश्यक छ ।
पछिल्लो दशकमा स्थानीय नदी तथा खोलानालाबाट बालुवा तथा ढुङ्गा झिक्नेक्रम बढेको, वनक्षेत्र मासिएको र भौगर्भिक दृष्टिले कमजोरचुरे रहेको चुरेक्षेत्रका स्रोतसाधन दोहन भएकाले वातावरणमा प्रतिकूल असर पुगी स्थानीय खोलानाला तथा तालतलैया सुक्न थालेको अवस्थामा घरआँगनै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढेको मिथिलाबासीको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया