मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने

टाढिएका मतदातालाई जोड्न कांग्रेसले देशव्यापी ‘हामी तयार छौँ’ अभियान चलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १ गते । नेपाली कांग्रेसले पार्टीबाट टाढिएका मतदातासँग विश्वास पुनर्स्थापित गर्ने, सङ्गठन सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने उद्देश्यले मङ्गलबारदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा सञ्चालन हुने एकमहिने अभियानमा वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालित हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अभियानको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्नु, पार्टीको सङ्गठनलाई थप चलायमान बनाउनु तथा कांग्रेसका नीति, धारणा र गतिविधि आमनागरिकसम्म पुर्‍याउनु हो।

अभियानका क्रममा स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि अपनाइने प्राइमरी इलेक्सन प्रक्रियाबारे आवश्यक तयारी तथा छलफल गरिनेछ। त्यस्तै, जिल्ला तथा प्रदेश तहमा पार्टीका अधिवेशन, सङ्गठन विस्तार तथा अन्य साङ्गठनिक गतिविधिलाई समेत प्राथमिकताका साथ अघि बढाइने कांग्रेसले जनाएको छ।

महामन्त्री पौडेलले कांग्रेस अहिले प्रतिपक्षमा रहे पनि राष्ट्रिय जिम्मेवारी पूरा गर्न पार्टी तयार र प्रतिबद्ध रहेको सन्देश जनतामाझ पुर्‍याउन अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार अभियानले पार्टीको वर्तमान भूमिका र आगामी कार्यदिशाबारे नागरिकलाई जानकारी गराउने अवसरसमेत प्रदान गर्नेछ।

अभियानअन्तर्गत विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदातासँग प्रत्यक्ष संवाद गरिनेछ। उनीहरूका गुनासा, प्रश्न र असन्तुष्टि सुन्ने तथा त्यसको जवाफ दिने गरी अभियानलाई जनतासँगको संवादमा केन्द्रित गरिने महामन्त्री पौडेलले बताउनुभयो।

कांग्रेसले अभियानमार्फत पार्टी र मतदाताबीचको सम्बन्ध पुनः मजबुत बनाउने, स्थानीय तहसम्मको सङ्गठनलाई सक्रिय बनाउने तथा आगामी निर्वाचनका लागि आधार तयार गर्ने लक्ष्य लिएको छ। एक महिनासम्म सञ्चालन हुने अभियानमा केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई परिचालन गरी नागरिकसँग प्रत्यक्ष सम्पर्क र संवाद बढाइनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया