काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा थालेका छन्।
पदयात्राको सांकेतिक उद्घाटन सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिर परिसरमा रास्वपा सभापति रवि लामिछानेले गरेका हुन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले जानकी मन्दिरको प्रांगणबाट सांसद सिंहलाई पदयात्राका लागि बिदाइ गरेका थिए।
बिदाइका क्रममा सभापति लामिछानेले सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै पदयात्राको सफलताको शुभेच्छा व्यक्त गरे। उनले पदयात्राले देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
लामिछानेले निर्वाचनका बेला मधेस र पहाडलाई रास्वपाले जोडेजस्तै मेची–महाकाली पदयात्राले पनि देशलाई जोड्ने दाबी गरे। उनले विभिन्न भूगोल, समुदाय र क्षेत्रबीच आपसी सम्बन्ध तथा सद्भाव थप बलियो बनाउन यात्राले भूमिका खेल्ने बताए।
सांसद सिंहले भने जनकपुरबाट पदयात्रा सुरु गरिएको भए पनि यो सांकेतिक सुरुवात मात्रै भएको बताएका छन्। उनका अनुसार मेची–महाकाली पदयात्राको विधिवत् सुरुवात मंगलबार बिहान झापाबाट हुनेछ।
झापाबाट सुरु हुने यात्राले देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न भूभाग समेट्ने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने सिंहको तयारी छ। पदयात्राका क्रममा स्थानीय नागरिकका समस्या, अपेक्षा तथा गुनासो सुन्ने र पार्टी तथा जनप्रतिनिधिबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्य रहेको बताइएको छ।
रास्वपाले पछिल्लो समय जनतासँग प्रत्यक्ष संवाद र देशव्यापी संगठन विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा सांसद सिंहको मेची–महाकाली पदयात्रालाई राजनीतिक तथा सामाजिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
छठ पर्वको अवसरमा जनकपुरबाट गरिएको सांकेतिक सुरुवातपछि झापाबाट विधिवत् यात्रा अघि बढ्ने भएकाले पदयात्राले पूर्वदेखि पश्चिमसम्मको राजनीतिक तथा सामाजिक वातावरणलाई समेत समेट्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया