हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजार नजिक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बिहीबार बिहान हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो । बिहान करिब साढे ८ बजे भएको दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।
हेटौँडा अस्पतालले उपचारका क्रममा तीन जनालाई मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसअघि गत कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । काठमाडौँबाट सर्लाही जाँदै गरेको उक्त माइक्रोबस सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया