काठमाडौँ । इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लर्ड्समा खेल्नेछ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार उक्त टी-२० अन्तर्राष्ट्रिय खेल सन् २०२७ जुन ३ मा हुनेछ।
नेपालले भ्रमणमा स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग गरी छ खेल खेल्नेछ। जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेलबाट भ्रमण सुरु हुनेछ। बंगलादेशसँग लर्ड्समा खेलेपछि नेपालले आयरल्यान्डसँग चार खेल खेल्नेछ।
आयरल्यान्डसँग जुन ६ मा वर्म्स्लीमा ५० ओभरको खेल र जुन ९ मा सोही मैदानमा टी-२० खेल हुनेछ। बाँकी दुई टी-२० खेल जुन ११ र १२ मा बेकनहममा हुनेछन्।
नेपाल र बंगलादेशबीचको खेल हुने दिन लर्ड्समै मिडलसेक्सको घरेलु टी-२० ब्लास्ट खेल पनि हुनेछ। लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका खेल एकै दिन आयोजना हुन लागेको यो पहिलो अवसर हो। एमसीसीका अनुसार नेपाली र बंगलादेशी दर्शकका लागि टेलिभिजन प्रसारणलाई ध्यानमा राखेर खेलको समय तय गरिएको हो।
नेपालले यसअघि सन् २०१८ मा लर्ड्समा नेदरल्यान्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय खेलेको थियो। बंगलादेशको पुरुष टोलीका लागि भने यो लर्ड्समा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया