मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ मङ्सिरः राजधानी काठमाडौँबाट धुवाँ तथा  कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ । दक्षिणकाली नगरपालिकामा पर्ने यो ठाउँ इतिहास, प्रकृति र संस्कृतिका दृष्टिले महत्वपूर्ण छ । सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर तथा चिसो पहाडी हावाबीच यस ठाउँमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र, चन्द्रज्योति विद्युत् गृह । जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रुपमा परिचित छ । पावरहाउसमा पुराना पेल्टन टर्बाइन, जेनेरेटर र अन्य यन्त्रहरू संरक्षित छन् ।

दक्षिणकाली नगरपालिकाले यस क्षेत्रलाई अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले योजना बनाइरहेको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतका अनुसार फर्पिङ घुम्न जानेका लागि ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा र बौद्ध गुम्बाहरू पनि आकर्षक गन्तव्य बन्न सक्छन् । यस यात्रामा दक्षिणकाली मन्दिरलाई पनि समेट्न सकिन्छ ।

काठमाडौँबाट बिहानै निस्कने हो भने यी स्थल दिनभरीमा मजाले घुम्न सकिन्छ । रात बिताउने चाहना भए नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प पनि छन् ।

फर्पिङ हाइड्रोको शताब्दी पुरानो इतिहास

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा योजना अघि बढेको चन्द्रज्योति विद्युत् गृह १९६८ जेठ ९ गते उद्घाटन भएको हो । पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्र हो । केन्द्रले चीनको पहिलो जलविद्युत् केन्द्र शिलोंग्बाभन्दा करिब एक वर्षअघि बिजुली उत्पादन सुरु गरेको थियो । शिलोंग्बा सन् १९१२ मा ४८० किलोवाट क्षमतामा सञ्चालनमा आएको थियो । भारतमा भने त्यसअघि नै सन् १८९७ मा १३० किलोवाटको सिद्रापोङ र सन् १९०२ मा चार हजार ५०० किलोवाटको शिवसमुद्रम आयोजना सञ्चालनमा आइसकेका थिए ।

आयोजनाको योजना बनाउने काममा नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्व थियो । कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न हुनुहुन्थ्यो । बेलायती इन्जिनियरले विस्तृत लागत अनुमान र उपकरण जडानमा काम गरे भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गर्नुभएको थियो । नेपाली कामदार र केही भारतीय प्राविधिकको संलग्नतामा मुख्य निर्माण करिब २० महिनामा पूरा भएको थियो ।

आयोजनामा रु सात लाख १३ हजार २७३ खर्च भएको अभिलेख छ । त्यसमध्ये रु तीन लाख ६७ हजार ९८४ नेपालभित्रै खर्च भएको थियो । टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य उक्त लागतमा समावेश थिएन । आवश्यक उपकरण बेलायतबाट कलकत्ता, भीमफेदी हुँदै फर्पिङसम्म ल्याइएको थियो ।

फर्पिङदेखि टुँडिखेलसम्म पुगेको उज्यालो

बिजुली निकाल्न फर्पिङमा कुनै विशाल नदी थुनिएको थिएन । सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय बनाइएको थियो । त्यसको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट छ ।

जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्चको पाइप हुँदै पानी पावरहाउससम्म पु¥याइयो । पानीको बलले २५०–२५० किलोवाटका दुई पेल्टन टर्बाइन घुमाउँथ्यो । जेनेरेटरबाट उत्पादित तीन फेजको ३.३ किलोभोल्ट विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो । काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो लाइनले फर्पिङको बिजुली टुँडिखेलसम्म पु¥याएको थियो ।

विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ करिब ६ः३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गर्नुभएको थियो । त्यसपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको थियो । उद्घाटनको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको इतिहास छ । सुरुका वर्षमा भने यस केन्द्रको बिजुली मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा सीमित थियो ।

फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन ग¥यो । त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित उत्पादन रोकियो । पुराना यन्त्रहरू मर्मत गरेर प्रदर्शनका लागि कहिलेकाहीँ चलाइने अवस्थामा राखिएका छन् । नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ ।

दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेत आफूहरु यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्नेगरी काम गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले नगरपालिकाले म्यापिङको काम गरिरहेको र चाँडै सार्वजनिक पनि गरिनेछ ।

“फर्पिङ काठमाडौँको नजिकै भएको एतिहासिक पर्यटकीय क्षेत्र हो, यहाँ धार्मिक हिसाबले, इतिहास अध्ययन गर्न चाहनेहरुका लागि उपयुक्त गन्तव्य हो, त्यसबाहेक एक दिनको ट्रेकिङका जाने जाने र पिकनिक मनाउनेका लागि पनि उत्तम स्थलका रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो ।

जलविद्युत्का लगानीकर्ता विजय सागर प्रधान आज फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा चिनाउने प्रशस्त आधार भएको बताउनुहुन्छ । उहाँका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धन गर्दै यस क्षेत्रलाई शैक्षिक गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ । साथै जलाशय, पावरहाउस, मन्दिर र गुम्बालाई जोडेर भ्रमणको राम्रो अनुभव तयार गर्नसके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको विद्युत् इतिहास नजिकबाट बुझ्ने अवसर मिल्ने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार