नुवाकोट । नेपाली कांग्रेसको देउवा पक्षले नुवाकोटमा आयोजना गर्न लागेको जिल्ला अधिवेशनको तयारी पूरा गरेको छ। मंसिर ६ गते आइतबार बिहान ११ बजे विदुर नगरपालिका–४ बट्टारस्थित रानीमौरी ब्याङ्क्वेटमा अधिवेशन हुन लागेको हो।
अधिवेशनमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। त्यसैगरी नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत, केन्द्रीय प्रतिनिधि ध्रुव अधिकारीलगायत नेताहरूले सम्बोधन गर्ने जिल्ला संयोजक श्रीराम श्रेष्ठले जानकारी दिएका छन्।
जिल्ला संयोजक श्रेष्ठका अनुसार नुवाकोटका दुई निर्वाचन क्षेत्रबाट करिब तीन हजार प्रतिनिधि छनोट भएका छन्। यद्यपि नेतृत्व सहमतिका आधारमा चयन गर्ने प्रयास भइरहेकाले अधिवेशनमा करिब एक हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। सहभागी प्रतिनिधिका लागि बिहानको खानाको व्यवस्थासमेत मिलाइएको उनले बताए।
अधिवेशनलाई व्यवस्थित र आकर्षक बनाउन बट्टार बजारमा बाजागाजासहित र्याली निकाल्ने तयारी गरिएको छ। बजार तथा अधिवेशनस्थल आसपास कांग्रेसका झण्डा राखेर सजावट भइरहेको छ भने कार्यक्रमलाई मर्यादित बनाउन स्वयंसेवक परिचालन गरिने जनाइएको छ।
देउवा पक्षले जिल्लाका ८८ वटै वडा र १२ वटै पालिकाको अधिवेशन सम्पन्न गरिसकेको दाबी गरेको छ। यसअघि चुनावी प्रक्रियाबाट ७० जना महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्। जिल्ला अधिवेशनकै अवसरमा महासमिति सदस्यसमेत चयन गरिने बताइएको छ।
अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नुका साथै आगामी पार्टी गतिविधि र संगठन सुदृढीकरणका विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया