मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एआई र प्रविधिको विकासलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्छ : वर्षमान पुन

जनताका दैनिक समस्या सम्बोधन गर्दै उनीहरूसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । नारायणगढ (चितवन)। बदलिँदो सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितिअनुसार कम्युनिष्ट आन्दोलनको विचार, कार्यदिशा, सङ्गठन र कार्यशैली रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रले आफ्नो छैटौँ वार्षिक साधारणसभाका अवसरमा शनिबार भरतपुरमा आयोजना गरेको ‘कम्युनिष्ट आन्दोलन रूपान्तरणको मार्गचित्र’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले आन्दोलनलाई समयअनुकूल बनाउनुपर्ने धारणा राखेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका सङ्गठन विभाग प्रमुख वर्षमान पुनले विश्व पुँजीवाद, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) ले ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्ने बताए। जनताका दैनिक समस्या सम्बोधन गर्दै उनीहरूसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्नेमा उनले जोड दिए।

नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले मार्क्सवादको मूल मर्म समाज परिवर्तन र रूपान्तरण भएकाले बदलिँदो समाजअनुसार विचार र विश्लेषणलाई विकसित गर्नुपर्ने बताए। एआईलगायत नयाँ प्रविधिले समाजलाई थप जटिल बनाउँदै लगेकाले वर्गीय विश्लेषणमा समेत नयाँ दृष्टिकोण आवश्यक रहेको उनको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि रमाकान्त सापकोटा, करुणा पराजुली र वसन्त श्रेष्ठले टिप्पणी गरे। यस्तै, महासचिव दृश्यान्त भट्टराईले साङ्गठनिक तथा कोषाध्यक्ष त्रिविक्रम ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोही अवसरमा केन्द्रद्वारा प्रकाशित ‘एआई : वर्तमान र भविष्य’ पुस्तक लोकार्पण गरिएको थियो। विसं २०७७ मा कोरोना महामारीका समयमा स्थापना भएको केन्द्रले विभिन्न समयमा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। केन्द्रले आइतबार १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको उपमहासचिव सागर अधिकारीले जानकारी दिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया