काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका रहेको आरोप लगाएका छन्।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाविधेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे।
अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए।
अध्यक्ष लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप समेत लगाए। नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षताको निर्णय गरिएको उनको आरोप छ।
अध्यक्ष लिङ्देनले नेपालको राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने बताए।
त्यस्तै राप्रपाकी सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताइन्। धार्मिक गुरुहरूलाई मठ मन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राष्ट्र बनाउनको लागि दबाब दिन पनि उनले आग्रह गरिन्।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले संसदमा आवाज उठाउने र संसदबाहिर धार्मिक गुरुहरूले आवाज उठाउनुपर्नेमा जोड दिइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया