मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

एमालेसहितका दलसँग सहकार्य गरेर अघि बढ्छौँ : प्रचण्ड

कम्युनिस्ट आन्दोलन बलियो बनाउन सबै घटकसँग एकता गर्ने प्रचण्डको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोरखा, मङ्सिर ८ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा नेकपा एमालेलगायतका अन्य दलसँग सहकार्य गरेर जाने बताउनुभएको छ ।

गोरखा नगरपालिका वडा नं. ११ स्थित बाह्र किलोमा सोमबार आयोजित सहिद परिवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबै कम्युनिस्ट घटकलाई समेटेर साझा शक्तिका रुपमा अघि बढ्ने विषयमा भइरहेको छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो ।

एमालेलगायत अन्य कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दै अन्ततः एउटै पार्टी बनाएर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । “देशको वर्तमान परिस्थितिमा एकता अत्यन्त महत्त्वपूर्ण छ, यसबारे भइरहेका छलफल सकारात्मक देखिएका छन्,“ संयोजक दाहालले भन्नुभयो ।

उहाँले कम्युनिस्ट शक्तिबिचको एकता केवल चुनावी सहकार्यमा मात्र सीमित नरही दीर्घकालीन रूपमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढाइएको स्पष्ट पार्नुभयो । “विभिन्न घटकबिच विश्वासको वातावरण बन्दै गएको छ,’’ उहाँले भन्नुभयो, “अहिले भइरहेको छलफलले कम्युनिस्ट पार्टीहरूलाई साझा गन्तव्यमा पु¥याउनेछ भन्ने विश्वास छ ।’’

कार्यक्रममा बोल्दै संयोजक दाहालले आफू नेतृत्वको सरकारले सबै सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरिएको स्मरण गराउनुभयो । “उक्त निर्णय सहिद परिवारप्रति गरिएको सम्मान र उनीहरूको योगदानको कदर पनि हो,’’ उहाँले भन्नुभयो ।

उहाँले पार्टी संगठन सुदृढीकरणका लागि नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरिसकेको समेत बताउनुभयो । “अभियानका प्रमुख एजेन्डामा पार्टी सदस्यताको नवीकरण, नयाँ सदस्यता वितरण, स्थानीय तहको निर्वाचनको तयारी र महाधिवेशनको तयारी रहेका छन्,’’ संयोजक दाहालले भन्नुभयो, “अभियानमार्फत संगठनलाई तल्लो तहसम्मै सक्रिय बनाउने लक्ष्य रहेको छ ।’’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया