नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–३ स्थित कुष्ठरोगको उपचारमा समर्पित साइनिङ अस्पतालले एक वर्षमा १९ हजार भन्दा बढीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८२र८३ मा १९ हजार ६०३ जनाले अस्पतालबाट ओपिडी सेवा लिएका छन् । उपचार सेवा लिएकामध्ये २ हजार ९७४ जना कुष्ठरोगका बिरामी रहेको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिनुभयो ।
साइनिङ अस्पताल तथा आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा सल्लाहकार समितिको बुधबार नेपालगन्जमा आयोजित बैठकमा थारूले अस्पतालको सेवा तथा उपलब्धिबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार उक्त अवधिमा १४८ जनाले अस्पतालबाट अन्तरङ्ग ९भर्ना० सेवा लिएका छन् ।
२५ शय्याको यस अस्पतालमा शनिबार बाहेक दैनिक ओपिडी सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालले छालासम्बन्धी रोगको परीक्षण तथा उपचारसँगै कुष्ठरोगका कारण उत्पन्न हुने जटिलताको पहिचान, उपचार र व्यवस्थापन गर्दै आएको छ ।
‘हाम्रो प्रयास कुष्ठरोग निवारण गर्नु हो,’ थारूले भन्नुभयो, ‘अस्पतालमा ओपिडी सेवासँगै बिरामी भर्ना गरेर पनि उपचार सेवा प्रदान गर्दै आएका छौँ ।’ विभिन्न स्वास्थ्य शिविर तथा खोजपड्ताल कार्यक्रमका क्रममा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएको उहाँले जानकारी दिनुभयो । नयाँ पहिचान भएकामध्ये सबैभन्दा धेरै ८१ जना बाँकेका छन् ।
समुदाय केन्द्रित खोजपड्ताल कार्यक्रम सञ्चालन गर्दा नयाँ कुष्ठरोगी पहिचान हुने दर बढेको थारूले बताउनुभयो । ‘समुदायमा जति धेरै खोजपड्तालका कार्यक्रम सञ्चालन हुन्छन्, नयाँ कुष्ठरोगी पहिचान हुने दर पनि त्यति नै बढ्छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार कुष्ठरोगको जोखिमका दृष्टिले बाँकेका सबै स्थानीय तह संवेदनशील अवस्थामा छन् ।
सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरेको थियो । तर, त्यसको १६ वर्ष बितिसक्दा पनि कुष्ठरोगी पहिचान हुने क्रम रोकिएको छैन । बाँकेमा अझै पनि उल्लेख्य सङ्ख्यामा नयाँ कुष्ठरोगी पहिचान हुनु चिन्ताजनक रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। नवीन दर्नाल बताउनुहुन्छ ।
उहाँका अनुसार समुदायस्तरमै पुगेर नयाँ बिरामीको खोजी गर्ने र उनीहरूलाई जतिसक्दो छिटो उपचारको पहुँचमा ल्याउन सके कुष्ठरोगको जोखिम न्यूनीकरण गर्न सकिन्छ । समयमै रोग पहिचान गरी उपचार सुरु गर्नु यसको नियन्त्रणका लागि महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
सल्लाहकार समितिको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख गोविन्द पौडेल, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना तथा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि दीपक ढकाल लगायतले सुझाव राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार भेषराज बस्नेतले गर्नुभएको थियो ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त देश बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको छ । यसका लागि समुदायस्तरमा रोगको खोजपड्ताल, समयमै पहिचान, उपचारको पहुँच विस्तार र जनचेतना अभिवृद्धिलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया