मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा विस्तार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत, १३ मङ्सिरः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित ‘सम्भव जीवन’ समावेशी आँखा तथा कान स्वास्थ्य परियोजनाको आज यहाँ शुभारम्भ गर्नुभएको छ ।

कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सङ्घले विकास साझेदार संस्था सिबिएम ग्लोबलसँगको सहकार्यमा उक्त परियोजना कार्यान्वयनमा ल्याएको हो ।

उक्त परियोजनामार्फत कर्णाली प्रदेशमा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा विस्तार गरिनेछ । परियोजनाले अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविरमार्फत नागरिकलाई उपचारको पहुँचमा ल्याउने लक्ष्य राखेको छ ।

परियोजनाअन्तर्गत तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ । परियोजना अवधिभर पाँच हजारभन्दा बढी आँखा तथा कानका बिरामीको निःशुल्क शल्यक्रिया गरिने कार्यक्रममा जानकारी दिइयो ।

त्यसैगरी, विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ ।

सुभारम्भ समारोहमा मुख्यमन्त्री शाहीले नेपालमा दृष्टिविहीनता निवारण गर्ने अभियानमा नेपाल नेत्रज्योति सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै परियोजना सञ्चालन गर्न प्रदेश सरकारकोतर्फबाट आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भव जीवन परियोजनाको कार्यान्वयनसँगै अब प्रदेशका नागरिकले आर्थिक अभावका कारण आँखा र कान उपचार उपचार सेवाबाट वञ्चित हुनु पर्दैन ।”

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई प्रकृतिले माया गरेको उल्लेख गर्दै त्यसलाई उपहारका रुपमा ग्रहण गर्दै प्रदेश सरकारले आफ्नो नीति र लक्ष्य निर्धारण गरेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै परियोजनामार्फत आँखा तथा कानको सेवालाई अझै विशिष्टिकृत गर्दै लगिने बताउनुभयो ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्तबहादुर पुनले आँखा र कान स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिन आग्रह गर्दै हरेक पालिकाले आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले कर्णाली प्रदेशमा सन् २०१९ मा गरिएको ‘¥यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस सर्वेक्षण’ले ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनाको अवस्था करिब एक प्रतिशत रहेको देखाएको बताउँदै त्यसलाई न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम जिल्लामा बसोबास गर्ने धेरै नागरिक भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको बताउनुभयो ।

उहाँले त्यस्ता नागरिकलाई उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदाय तथा नागरिककै घरदैलोमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर परियोजनामार्फत सञ्चालन गरिने बताउनुभयो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सन् २०२० देखि २०२५ सम्म सिबिएमको सहकार्यमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अघिल्लो कार्यक्रमबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी तथा बृहत् रुपमा सेवा विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

सिबिएम ग्लोबलका नेपाल निर्देशक राज भट्टराईले दृष्टिविहीनता न्यूनीकरण गर्न कर्णाली, कोशी र मधेस प्रदेशमा विभिन्न कारणले सेवाबाट बञ्चित नागरिकलाई लक्षित गरी नेत्रज्योति सङ्घसँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

आर्थिक अभाव, भौगोलिक विकटता वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा देशका विभिन्न क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘सम्भव जीवन’ परियोजनाले कर्णाली प्रदेशका नागरिकको दृष्टि तथा श्रवण स्वास्थ्यमा सुधार ल्याउनुका साथै उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गता समावेशी स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बाजुरामा भव्य स्वागत तथा सम्मान
२०८३ मंग्सिर १३, आइतबार
शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिनुपर्छ : संयोजक प्रचण्ड
२०८३ मंग्सिर १३, आइतबार
‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’ : मुख्यमन्त्री शाही
२०८३ मंग्सिर १३, आइतबार
लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री
२०८३ मंग्सिर १३, आइतबार
‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’ : वरिष्ठ उपसभापति शर्मा
२०८३ मंग्सिर १३, आइतबार
अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी
२०८३ मंग्सिर १३, आइतबार
एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
२०८३ मंग्सिर १३, आइतबार