मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन

सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्य लिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नारायणगढ (चितवन), १२ मङ्सिर : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।

आज औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै उहाँले हालसम्मको कार्यप्रगति जानकारी लिनुभएको र अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो ।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ ।

औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न इच्छुक उद्योगीले विगत आठ वर्षदेखि जग्गा माग गर्दै चितवन उद्योग सङ्घको सचिवालयमा आवेदन दिँदै आएका छन् । सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ ।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ । यसैगरी, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गर्नुभएको थियो । उहाँले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि निर्माण कार्यलाई पूर्णता दिनुपर्नेमा जोड दिँदै उहाँले भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धनमा महत्त्वपूर्ण मानिएका शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
२०८३ मंग्सिर १२, शनिबार
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर १२, शनिबार
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
२०८३ मंग्सिर १२, शनिबार
युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट
२०८३ मंग्सिर १२, शनिबार
बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
२०८३ मंग्सिर १२, शनिबार
दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२०८३ मंग्सिर १२, शनिबार
भेरी अस्पतालमा स्वास्थ्य सेवा थपिने क्रम बढ्दै
२०८३ मंग्सिर १२, शनिबार