सुर्खेत, १२ मंसिर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् ।
शनिबार बिहान कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गर्दै अङ्क बाँडेका थिए । शनिबारको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम अङ्क बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो ।
खेलको सातौँ मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, एपीएफका गणेश पुलामीले १६ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २६ औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो ।
पहिलो हाफमा एक गोलले पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा पुनरागमन गर्यो । खेलको ७२ औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।
म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेंलो कार्ड पाएका थिए । एपीएफका सुमन श्रेष्ठले ६० औँ मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९ औँ मिनेटमा पहेंलो कार्ड पाएका थिए ।
प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो खेलमा मधेस प्रदेशसँग सुदूरपश्चिम पराजित भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया