भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आगामी पुस महिनामा मध्यपुर थिमि खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।
नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाको चालु आर्थिक बर्ष २०८३-०८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेट अनुसार पुस महिनामा विभिन्न विद्याका खेलकुद प्रतियोगिताहरू समावेश गरी खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
खेलकुद महोत्सवको शुभारम्भ पुस ११ गते बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालनबाट गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले १० लाख २५ हजार रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।
महोत्सव अन्तर्गत राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता, उपत्यका व्यापी भलिबल प्रतियोगिता, मार्सल आर्ट प्रतियोगिता, किक बक्सिङ प्रतियोगिता, टेबल टेनिस , फुटसल, ब्याडमिण्टन, बास्केटबल, हाफ म्यारथन, उसु र स्नसकर प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
नगरका युवाहरू केवल खेल हेर्ने दर्शकमा मात्र सीमित नरहुन् र उनीहरू खेल्ने, प्रतिस्पर्धा गर्ने, आफ्नो प्रतिभा बिकास गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नगरको नाम चिनाउने खेलाडीको रुपमा अगाडि बढाउने महोत्सवको उद्देश्य रहेको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड बजेट लाग्ने अनुमान गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया