काठमाडौं। दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्री विधामा आज क्वाटरफाइनल समीकरण पूरा भएको छ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा फुल कोर्टतर्फ एपीएफले कर्णालीलाई ६७–१९, बागमतीले मधेसलाई ४३–५, कोशीले गण्डकीलाई ३३–७ र आर्मीले लुम्बिनीलाई ८०–२ अङ्कले पराजित गरे।
खेलमा एपीएफकी डोमा तामाङले ११, बागमतीकी एलिशा कार्कीले १०, कोशीकी आस्था कुलुङ राईले नौ र आर्मीकी नौसिका लिम्बूले सर्वाधिक २४ अङ्क जोडे।
फुल कोर्टको क्वाटरफाइनलमा एपीएफ र गण्डकी, सुदूरपश्चिम र लुम्बिनी, कोशी र नेपाल पुलिस तथा नेपाल आर्मी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, थ्री अन थ्रीमा एपीएफले कोशीलाई १२–५, कर्णालीले मधेसलाई १६–१, सुदूरपश्चिमले गण्डकीलाई ८–४ र नेपाल पुलिसले लुम्बिनीलाई ५–१ अङ्कले पराजित गरे।
यस विधाको क्वाटरफाइनलमा आर्मीले गण्डकी, बागमतीले लुम्बिनी, सुदूरपश्चिमले एपीएफ तथा नेपाल पुलिसले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछन्। दुवै विधाका क्वाटरफाइनल खेल शुक्रबार हुनेछन्।
टेनिसको महिला एकलमा प्रकृति सेमिफाइनलमा
यसैगरी दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियाको गुलरियामा जारी टेनिसको महिला एकलतर्फ बागमतीकी प्रकृति श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी छन्।
प्रकृतिले एपीएफकी समृद्धि महर्जनलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरिन्।
पुरुष एकलतर्फ गण्डकीका प्रदीप खड्काले एनआरएनएका रेन्जेन लामालाई ६–४ र ६–२, नेपाल आर्मीका प्रणव खनालले बागमतीका प्रीतम परियारलाई ६–१ र ६–०, गण्डकीका करनबहादुर थापाले आर्मीका राजवीर प्रधानलाई ६–४ र ६–२ तथा बागमतीका निसान श्रेष्ठले एनआरएनएका असभसम्राट हाडालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।
महिला युगलतर्फ आर्मीका शिभाली गुरुङ र स्वस्तिकाको जोडीले एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती विकको जोडीलाई ६–१ र ६–० तथा बागमतीका प्राज्ञा मानन्धर र प्रकृति श्रेष्ठको जोडीले गण्डकीका आरुषी तुलाचन र आहाना शेरचनको जोडीलाई ६–० र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे।
मिश्रित युगलतर्फ गण्डकीका शक्ति शर्मा र आहानाको जोडीले सुदूरपश्चिमका महेन्द्रबहादुर साउद र आश्मि धामीको जोडीलाई ६–१ र ६–४ तथा आर्मीका स्वस्तिका र प्रणवको जोडीले एपीएफका देवआशिष रेउले र समृद्धि महर्जनको जोडीलाई ६–२ र ६–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया