काठमाडौँ, १० मङ्सिर : नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न अर्थ समितिले निर्देशन दिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई सो उक्त निर्देशन दिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो ।
“नागरिक लगानी कोष भनिए पनि नागरिकको पहुँच बढ्न सकेन भन्ने कुरा आइरहेको छ,” सभापति बुढाथोकीले भन्नुभयो, “यहाँ(बैठकमा) उठेका विषयवस्तु र कार्यसूचीलाई समेटेर १० दिनभित्र बृहत् प्रतिवेदन पेस गर्न निर्देशकज्यूलाई निर्देशन गर्छु ।”
बैठकमा सांसदहरूले नागरिक लगानी कोषको लगानी क्षेत्र सीमित रहेको भन्दै ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा लगानी विस्तार गर्न सुझाव दिनुभएको थियो । उहाँहरूले दीर्घकालीन परियोजनामा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । कोषका कार्यकारी निर्देशक कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया