काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।
अभ्यासको शुभारम्भ श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने उक्त अभ्यास मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ।
अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायतासम्बन्धी विषयमा केन्द्रित रहेर तालिम सञ्चालन गरिनेछ। यस क्रममा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन्।
विशेषगरी प्राकृतिक विपद्का समयमा खोज तथा उद्धार, राहत व्यवस्थापन र मानवीय सहयोगका कार्यलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सैनिक क्षमता अभिवृद्धिमा अभ्यासले जोड दिनेछ। साथै, जङ्गल तथा प्रतिकूल भौगोलिक परिस्थितिमा गरिने सैनिक कारबाही र संयुक्त रूपमा कार्यसम्पादन गर्ने क्षमतासमेत विकास गरिनेछ।
वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘अभ्यास–सूर्यकिरण’को १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। दुई देशका सेनाबीच नियमित रूपमा हुँदै आएको यस अभ्यासलाई आपसी सहकार्य, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा लिइँदै आएको छ।
नेपाली सेनाले यस किसिमको संयुक्त सैनिक अभ्यासबाट नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान, कार्यक्षमता र आपसी समझदारी अभिवृद्धि हुने विश्वास लिएको छ।
२०औँ संस्करणको अभ्यासले दुई देशका सैनिकबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुका साथै विपद् व्यवस्थापन तथा मानवीय सहायताका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने क्षमता विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया