मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँ दिल्ली (भारत), ७ मङ्सिर । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गर्नुभएको हो ।

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ६७ करोड रहेको छ । निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ ।

आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ ।

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको हो । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता सम्पन्न भएको थियो ।

आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याई थप विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजना निर्माणका लागि जग्गा अधिग्रहण तथा प्रभावित परिवारलाई मुआब्जा वितरणको काम अघि बढाइएको छ । आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवार रहेकामा हालसम्म २५३ परिवारलाई करिब रु ९९ करोड ९८ लाख मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ ।

आयोजनाबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ । निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार
दीपक भट्टको थुनासम्बन्धी रिटमा सर्वोच्चले झिकायो पुरानो आदेश र मुद्दाको सक्कल मिसिल
२०८३ मंग्सिर ७, सोमबार
मध्यपश्चिम विश्वविद्यालयले माग्यो ७ डिन र २ निर्देशक
२०८३ मंग्सिर ७, सोमबार
उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा
२०८३ मंग्सिर ७, सोमबार
गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि
२०८३ मंग्सिर ७, सोमबार
सुनचाँदीको मूल्य उकालो लाग्न शुरु
२०८३ मंग्सिर ७, सोमबार