ललितपुर, ११ मङ्सिरः पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
निर्वाचन आयोगद्वारा आज ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श बैठकमा निर्वाचन पद्धति र प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा प्रस्तुतीरकरण गर्नुहुँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले अबको निर्वाचन रणनीतिक योजना तर्जुमा गर्दा निर्वाचन व्यवस्थापन प्रणालीलाई विकेन्द्रीकरण गर्ने, बदर मत घटाउने, भूगोलअनुसार मतदाताका र जनसङ्ख्याबीचको असमानता हटाउनेतीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
“नेपालको निर्वाचन व्यवस्थापनलाई अझ विश्वसनीय, पारदर्शी र अन्तरराष्ट्रियस्तरको बनाउन विद्यमान प्रणालीमा व्यापक सुधार आवश्यक छ । अन्तरराष्ट्रिय निर्वाचनसम्बन्धी सूचकमा नेपाल तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिए पनि सुधार गर्नुपर्ने थुप्रै पक्ष छन् । विशेषगरी विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्ने, निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेसन’ गर्ने, निर्वाचन खर्चलाई पारदर्शी बनाउने र राजनीतिक दलहरूलाई सुशासन तथा जवाफदेहिताको बाटोमा अघि बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ”, पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले भन्नुभयो ।
निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षा, मतदाताको गोपनीयता, डिजिटल पहुँच र डिजिटल साक्षरताजस्ता विषयलाई उत्तिकै ध्यान दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
“प्रविधि भित्र्याउने मात्र नभई त्यसलाई सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्नसक्ने संस्थागत क्षमता पनि विकास गर्नुपर्छ । निर्वाचनमा हुने खर्चको स्रोत पहिचान, चन्दादाताको पारदर्शिता, उम्मेदवार तथा राजनीतिक दलको आम्दानी र खर्चको प्रभावकारी अनुगमन तथा तेस्रो पक्षबाट हुने निर्वाचन खर्चलाई नियमन गर्ने व्यवस्था आवश्यक छ”, पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले भन्नुभयो ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र, उम्मेदवार छनोट प्रक्रिया, समावेशी प्रतिनिधित्व र जवाफदेहिता पनि सुधार गर्नुपर्ने उल्लेख गर्दै उहाँले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, दलहरूबीच स्वेच्छिक आचारसंहिताको अभ्यास तथा आवश्यकताअनुसार कानुनी र संस्थागत संयन्त्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
“निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई), सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट फैलिने गलत सूचना तथा भ्रामक प्रचारलाई नियन्त्रण गर्नु पनि अहिलेको महत्वपूर्ण चुनौती हो”, पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले भन्नुुभयो । उहाँले निर्वाचन व्यवस्थापनलाई क्रमशः विकेन्द्रीकरण गर्दै स्थानीय तह, समुदाय र स्थानीय जनशक्तिको सहभागिता बढाउन सकिन्छ भन्नुभयो ।
“मतदाता नामावली सङ्कलन, निर्वाचन शिक्षा, मतदानस्थल व्यवस्थापन र कर्मचारी परिचालनजस्ता काम स्थानीयस्तरबाटै प्रभावकारी रूपमा गर्न सकिने सम्भावना छ । यसले निर्वाचनको खर्च घटाउनुका साथै व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सक्छ । यी सबै विषयलाई एकैपटक कार्यान्वयन गर्न सम्भव नहुन सक्छ, त्यसैले प्राथमिकता निर्धारण गर्दै परीक्षण, अनुभव र सुधारका आधारमा चरणबद्ध रूपमा अघि बढ्नुपर्छ । आगामी रणनीतिक योजनाले यस्ता सुधारका लागि आवश्यक नीतिगत तथा संस्थागत आधार तयार गर्नुपर्छ”, पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले भन्नुभयो ।
निर्वाचन आयोगका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको पाइएको छ । उहाँले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१÷८२ देखि २०८५÷८६ सम्मका लागि तयार गरिएको रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको देखिएको छ । कुल १४६ क्रियाकलापमध्ये २४ प्रतिशत पूर्ण, ४२ प्रतिशत आंशिक र ३४ प्रतिशत कार्यान्वयन हुन बाँकी रहेको जानकारी दिइएको छ ।
महाशाखा प्रमुख भट्टराईका अनुसार पहिलो दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ क्रियाकलापमध्ये नौवटा पूर्ण कार्यान्वयन भएका छन् भने १६ वटा आंशिक रूपमा कार्यान्वयन भएका छन् । बाँकी १० वटा क्रियाकलाप कार्यान्वयन हुन सकेका छैनन् । यसअनुसार पहिलो दुई वर्षका लागि निर्धारित क्रियाकलापमध्ये करिब २६ प्रतिशत पूर्ण, ४६ प्रतिशत आंशिक र २९ प्रतिशत कार्यान्वयन नभएको अवस्था छ ।
सहसचिव भट्टराईले दोस्रो वर्ष आकस्मिक रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएपछि आयोगको प्राथमिकता निर्वाचन सञ्चालनतर्फ केन्द्रित हुँदा रणनीतिक योजनाको कार्यान्वयन प्रभावित भएको जानकारी गराउनुभयो । बजेट अभाव, कानुन निर्माणमा ढिलाइ र स्रोतसाधनको कमीले पनि योजनाको प्रगतिमा असर पारेको उहाँको भनाइ छ ।
आयोगको चौथो रणनीतिक योजना स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण गर्ने दीर्घकालीन सोचसहित तयार गरिएको हो । योजनामा पाँच वटा रणनीतिक स्तम्भ, ३० वटा कार्यनीति र १४६ वटा प्रमुख क्रियाकलाप समावेश छन् । पाँच वर्षका लागि करिब रु २५ अर्ब ५० करोड आवश्यकपर्ने अनुमान गरिएको छ । योजनाका पाँच रणनीतिक स्तम्भमा संस्थागत सुदृढीकरण, राजनीतिक दलको नियमन तथा व्यवस्थापन, मतदाता नामावली तथा निर्वाचन शिक्षा, प्रविधियुक्त निर्वाचन व्यवस्थापन र अन्तरनिकाय समन्वय तथा साझेदारी रहेका छन् ।
सहसचिव भट्टराईका अनुसार पाँच रणनीतिक स्तम्भमध्ये राजनीतिक दलको व्यवस्थापन तथा नियमनसम्बन्धी रणनीतिको कार्यान्वयन सबैभन्दा कमजोर देखिएको छ । राजनीतिक दलको दर्ता तथा अद्यावधिक प्रक्रियालाई प्रविधिमैत्री बनाउने, दललाई राज्यबाट वित्तीय सहयोग गर्ने सम्भाव्यता अध्ययन गर्ने तथा दलको व्यवस्थापन परीक्षण र स्वमूल्याङ्कन गर्ने विषयमा अपेक्षित प्रगति हुन सकेको छैन । यद्यपि राजनीतिक दलसँग नियमित बैठक तथा समन्वय, दलहरूको लेखापरीक्षण प्रतिवेदन प्राप्ति र निर्वाचन आयव्यय विवरणसम्बन्धी व्यवस्थामा सकारात्मक प्रगति भएको उहाँले जानकारी गराउनुभयो ।
आयोगले मतदाता नामावलीतर्फ अनलाइन दर्ता सुविधा, राष्ट्रिय परिचयपत्रसँग मतदाता विवरणको तादात्म्यता र सूचना प्रणालीको स्तरोन्नतिमा काम भइरहेको जानकारी गराउँदै सहसचिव भट्टराईले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने विषय अझै कानुनी तथा छलफलको चरणमा रहेको जानकारी दिनुभयो । निर्वाचनमा चारदेखि पाँच प्रतिशतसम्म मत बदर हुनु पनि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले प्रविधियुक्त निर्वाचन व्यवस्थापनअन्तर्गत भू–सूचना प्रणालीमार्फत देशभरका मतदान केन्द्रको अवस्थिति अद्यावधिक गरिएको जानकारी गराइएको छ ।
निर्वाचनका क्रममा आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन, साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नुपर्ने बताउँदै सहसचिव भट्टराईले रणनीतिक योजना कार्यान्वयनमा मुख्य चार चुनौती औँल्याउँदै निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण नहुनु, अपर्याप्त बजेट, आकस्मिक निर्वाचनका कारण प्राथमिकता परिवर्तन हुनु र राजनीतिक दल तथा आयोगबीच केही विषयमा साझा धारणा बन्न नसक्नुलाई प्रमुख समस्याका रूपमा प्रस्तुत गर्नुभयो । आगामी प्राथमिकताबारे निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालका विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
यसैगरी, निर्वाचन आयोगका राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख मानबहादुर बस्नेतले चौथो रणनीतिक योजनाको मध्यावधि समीक्षाबाट प्राप्त सुझावका आधारमा बाँकी अवधिको कार्ययोजना प्रभावकारी बनाउने र आगामी रणनीतिक योजनाको आधार तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले निर्वाचन व्यवस्थापनमा बाह्य मतदानलगायतका महत्वपूर्ण विषय उठिरहेको उल्लेख गर्दै सम्बन्धित कानुन परिमार्जन तथा निर्वाचन सुधारका विषयमा सरोकारवालाबीच समूहगत छलफल गरिने जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया