काठमाण्डौंः धादिङ अस्पतालमा आजबाट सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको शुभारम्भ भएको छ । कोरोना भाइरस महामारीपछि वाग्मती प्रदेशअन्तर्गत यो सेवा शुभारम्भ भएको धादिङ तेस्रो जिल्ला बनेको छ ।
यसअघि भक्तपुर र मकवानपुरमा सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको शुरुआत भइसकेको छ । धादिङ अस्पतालले १० श्ययाको आइसियू र दुई थान भेन्टिलेटर सेवा आजबाट सञ्चालनमा ल्याएको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आज आइसियूसहितको भेन्टिलेटर सेवाको शुभारम्भ गर्नुभएपछि सर्वसाधारणका लागि सो सेवा खुल्ला भएको अस्पतालले जनाएको छ ।
उहाँले अस्पतालको क्षमता बढाउनका लागि औजार, उपकरण सहयोग गर्ने उल्लेख गर्दै धादिङ अस्पतालले निकट भविष्यमा नै डायलासिस सेवा र मुटु रोगको प्रारम्भिक उपचार सेवा शुरु गर्नका लागि प्रदेश सरकारले सघाउने बताउनुभयो । कार्यक्रममा धादिङ अस्पतालले दिएको सेवाका बारेमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले प्रस्तुति गर्नुभएको थियो ।
धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया