समयले खोजेको क्रान्तिचेतना !
हुन त राजनीतिक परिवर्तनजस्तो एउटा घोषणा या एउटा निर्णयबाट सामाजिक परिवर्तन हुन सक्दैन तर मानवीय संवेदनाको जागरणमार्फत जब सामाजिक रूपान्तरणले सार्थक गति लिन्छ तब त्यसले राजनीतिक परिवर्तनको औचित्यलाई सार्थक लक्ष्य प्रदान गर्छ । सामाजिक विसंगतिहरूको अन्त्य न कानुनको प्रावधानले मात्र हुन सक्छ न त बन्दुकको त्रासले । बन्द समाजमा भित्रभित्रै पिल्सिएर रहेका पीडाहरूको उजागर र उपचार उदार लोकतान्त्रिक खुला आँगनमा तुलनात्मक रूपले सहज हुन्छ । त्यस्तो राजनीतिक व्यवस्थालाई हामीले स्वागत र अंगीकार गरिसकेका छौं । अतः सामाजिक अवस्था बदल्न अर्कै कुनै शासन–सत्ताको परिकल्पना र प्रतीक्षा गर्ने छुट अब हामीलाई छैन ।
एउटा नेपाल एक्काइसौं शताब्दीको प्रगतिमा लम्किरहेको छ, अर्को नेपाल अनेकन् विभेदको सोह्रौं शताब्दी भोगिरहेको छ ।
समाजको रूपान्तरण र देशको समग्र समुन्नति सुनिश्चित गर्ने दिशामा सार्थक ढंगले अघि बढ्न हाम्रासामु अब कुनै अर्को प्रयोगमा जाऔं भनेर देशलाई निरन्तरको प्रयोगशाला बनाउने सुविधा र बहाना पनि उपलब्ध छैन । अतः राजनीतिक व्यवस्था बदलेर पनि सामाजिक अवस्था बदल्ने दिशामा सन्तोषजनक प्रगति हामीले किन गर्न सकिरहेका छैनौं ? यो कारुणिक प्रश्नलाई अबका दिन प्रधान प्रश्नका रूपमा केन्द्रीय बहसमा ल्याउन जरुरी छ ।
राजनीति गर्ने मान्छेहरू सांसद, मन्त्री, प्रधानमन्त्री बनौंला रे, तर विभेद, क्रन्दन, अनेक पीडा र आँसुमा समाज डुबिरहने हो भने हाम्रा व्यक्तिगत राज्याभिषेकहरूको सान र गरिमा कहिलेसम्म रहन्छ ? राजनीति नगर्नेहरू जीवनका अनेक क्षेत्रमा प्रगति गरेर माथि उठ्लान् रे, तर जातीय विभेद, बोक्सी, बलात्कार, दाइजो, बालश्रम, छाउपडी आदि विसंगति आफ्नो समाजको पहिचान बनिरहँदा आफ्नो प्रगति भएकै छ, बाँकीको के मतलब भनेर तिनले आँखा चिम्म गर्न सक्छन् र ?
विसंगतिलाई ज्यूँका त्यूँ राखेर हासिल हुने व्यक्तिगत प्रगति र उच्च ओहदाभन्दा रूपान्तरित समाजको एक सामान्य मान्छे कहलिन पाउने गौरव निकै वजनदार हुन्छ । त्यसैले सामाजिक र सांस्कृतिक रूपान्तरण सबै थरीका लागि साझा विषय हो; भिन्न–भिन्न राजनीतिमा रहेका होऊन् या राजनीतिमा नरहेकाहरू, स्वदेशमा होऊन् या विदेशमा रहेका, ठूलो घरमा बस्ने होऊन् या झुपडीमा । यसलाई वर्गीय, जातीय या राजनीतिक आँखाले विभाजित भएर हेर्न हुन्न । विशुद्ध सामाजिक रूपान्तरणको क्रान्तिचेतनाको प्रश्न हो यो ।
गम्भीर व्यथा : गौरवगाथासँगै
देश बन्नु भनेको एउटा भूगोल मात्रै बन्नु हो त नेपाल उहिल्यै बनिसक्यो । पृथ्वीनारायणले एकीकरणको इतिहास निर्माण गरेको त्यो भूगोलभित्र आज एउटा होइन, दुईवटा नेपाल अस्तित्वमा छन् । ती दुईको दूरी कम गर्नु र क्रमशः गाँसेर अघि बढ्नु साँचो अर्थमा नेपाल देश बन्नु र बनाउनु हो भन्ने संवेदनशीलताको फाइल अब खुल्नुपर्छ ।
एउटा नेपाल अघि बढिरहेको छ तर नेपालभित्रै अर्को नेपाल कहीँ छुटिरहेको छ । एउटा नेपाल एक्काइसौं शताब्दीको प्रगतिमा लम्किरहेको छ, अर्को नेपाल अनेकन् विभेदको सोह्रौं शताब्दी भोगिरहेको छ । एउटा देश एकै कालखण्डमा दुई भिन्न शताब्दीको स्थितिमा हुनु गम्भीर विडम्बना हो । राजनीतिक, आर्थिक, सामाजिक अनेक कोणबाट दुईवटा नेपालको चित्र विश्लेषण गर्न सकिन्छ । यो छोटो आलेखमा त्यसको लामो व्याख्यामा नजाऔं । तर इमानदार आत्म स्वीकारोक्तिमार्फत संकल्प गरेर रूपान्तरण सम्भव तुल्याउनुको अर्को विकल्प देशसँग छैन । गाउँ–गाउँमा वडा–वडासम्म जनताद्वारा निर्वाचित जनताका सरकारहरू छन् । दलहरू, अनेक सचेत संस्था र हजारौं अभियन्ता छन् । कानुन छ, प्रहरी छ अनि न्याय कुरिरहेका अनुहारहरू छन् । सजग सामाजिक सञ्जाल र सबल सञ्चारमाध्यमहरू छन् । यस्तो जीवन्त र ऊर्जावान् समाज हरेक रात सामाजिक विसंगतिका मार्मिक कथाहरू सुन्दै कहिलेसम्म सन्चले निदाउन सक्छ ?
अब बेला भयो नयाँ ढंगले ब्युँझने, ‘ऐना’ मा आफैंलाई नियाल्ने, अनि आफैंलाई प्रश्न गर्ने– संसारकै सुन्दरमध्येको देशको अनुहारमा सामाजिक विसंगतिका धब्बाहरू हामी कहिलेसम्म बोकिरहन्छौं ? के हुन सक्छ यी विसंगतिहरूबाट मुक्तिको विधि र प्रक्रिया ?
अबको दशक र दशकपछि पनि
यो देशमा बलात्कार फेरि हुन्छ भने
त्यस बेला जेलमा हुनुपर्ने त्यो युवक
यस बेला कुनै आमाको गर्भभित्र हुनुपर्छ
के भनौं ! आमा उसलाई गर्भमै मारिदेऊ भनौं ?
या जन्मनेबित्तिकै निमोठिदेऊ भनौं ?
कि यो भनौं, हामी मानवीय संवेदनाको
नवीन लहर जागृत गर्छौं, ताकि
बदलिएको आकाशमुनिको समाजमा
दैत्य बन्न होइन, आमाको गर्भबाट ऊ
देव भएर जन्मियोस् ।
उसले हामीलाई लज्जित बनाउँदै भनोस्-
तिम्रो समयमा यो देशमा बलात्कार हुन्थ्यो रे !
तर फेरि हामीलाई
गौरवान्वित तुल्याउँदै भनोस्-
बधाई छ तिमीहरूलाई
तिमीहरूकै समयदेखि यो देशमा
बलात्कारका दिनहरू पूर्णविराममा गएछन् ।
महिना दिनअगाडि लेखेको कविताका यी पंक्ति किन पनि यहाँ प्रस्तुत गरेको हुँ भने, सामाजिक रूपान्तरणको प्रश्नलाई अबका दिनमा घनीभूत नतुल्याइए त्यसले हाम्रो वर्तमानलाई मात्र होइन, भावी पिँढीलाई पनि जलाउनेछ । गम्भीर भएर नवीन जागरणको सिर्जना गरियो भने त्यसले नवीन परिस्थितिको नवीन मनस्थिति क्रमशः विकसित गर्दै लैजानेछ ।
पढ्दै र पढाउँदै आयौं-नेपाल वीर गोर्खालीको देश । संसार जित्ने त्यो गोर्खाली विभेदको मानसिकतासँग आफ्नै घरभित्र कहिलेसम्म हारिरहनेछ ? सुन्दै र सुनाउँदै आयौं- नेपाल भगवान् बुद्ध जन्मेको देश । अहिंसाको विश्वव्यापी सन्देश दिने त्यो बुद्धभूमिमा बोक्सी, बलात्कार, दाइजोको पीडासाथ महिलाउपरको हिंसा कहिलेसम्म चलिरहनेछ ? संसारकै अग्लो शिखरको गौरव गर्दै आयौं, जसको फेदीमा बालश्रमदेखि बालविवाह हुँदै वृद्ध आमा अवहेलनासम्मको कथा कहिलेसम्म अग्लिरहनेछ ? त्यसैले गौरवगाथाहरूसँगै गम्भीर व्यथाहरू पनि अब केस्रा–केस्रा केलाऔं । व्यथाहरूको निदान यसरी खोजौं कि हाम्रा अनुहारहरू ती गाथा र गौरवसुहाउँदा बन्न सकून् ।
कान्तिपुर टेलिभिजनबाट आज माघ ७, बुधबार राति नौ बजे प्रसारण हुने कार्यक्रम ‘ऐना’ मार्फत म आफैंलाई प्रश्न गर्नेछु-म या मेरो परिवारबाट कोहीमाथि पनि कहिल्यै पनि कुनै विभेद या प्रताडना त भएन ? म आत्मालोचित हुन चाहन्छु र चाहन्छु हामी हरेकले आफ्नो अनुहारको धूलो पहिचान गरेर त्यसलाई सफा गर्न सकौं । आफैंलाई प्रश्न गरिसकेर एक थान प्रश्न म तपाईंका लागि विनम्रतापूर्वक छाडेर बिट मार्न चाहन्छु । आदरणीय मित्र, के तपाईं आफैंलाई प्रश्न गर्न र आत्मालोचना गर्न तयार हुनुहुन्छ ? तब न हामी दुई नेपाललाई गाँस्ने यात्राको अपिल गर्न सक्छौं ! कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया