काठमाण्डौंः नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि बिहिबार साँझ पोखरा पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ ।
पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल सङ्घका पदाधिकारीले स्वागत गर्नुभयो ।
पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो ।
टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहनुभएको छ । विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ ।
नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया