मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल

निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ मङ्सिरः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किनुभएका मन्त्री पोखरेले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।

“अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ”, मन्त्री पोखरेलले भन्नुभयो ।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको उहाँले बताउनुभयो ।

“तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुङ्गिन बाँकी छ”, मन्त्री पोखरेलले भन्नुभयो । उहाँका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’का रूपमा बुझेको थियो । तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उहाँले बताउनुभयो ।

“राज्यले गर्ने काम आफैँ गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले केही हस्तक्षप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ । त्यसमा उहाँहरू सकारात्मक हुनुभयो”, मन्त्री पोखरेलले भन्नुभयो । सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उहाँको भनाइ छ ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुग्नुभएका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया