असार २५, २०८२ बुधबार July 9, 2025

सन्त्रस्त भिभिआइपी – युवराज गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आफ्नै ज्यान सुरक्षित छैन भनेर ऐलान गर्ने राष्ट्रनायक, सरकारनायक वा कुनै अति विशिष्ट व्यक्तिको कथनलाई कसरी लिने ? असुरक्षाको भावले विशिष्ट व्यक्तिहरू नै भयाक्रान्त, भयातुर, भावुक र भीरु बनेपछि निम्छरा जनताले कसरी आफूलाई सुरक्षित ठान्ने ? एकपल्ट होइन, पटक–पटक प्रधानमन्त्री केपी ओलीले आफ्नो ज्यान जोखिममा परेको ‘पीडा’ सुनाएका छन् ।

सेना, प्रहरी, गुप्तचर, सशस्त्र प्रहरी आदिका गुप्त रिपोर्ट पढेर प्रधानमन्त्री बोलेका होलान् । सपनामा भैँसीले लखेट्यो भने मानिसको मृत्यु टाढा छैन भन्छन् बूढाबूढी । प्रधानमन्त्रीको अभिव्यक्तिमा दुःस्वप्न होइन, राज्यसंयन्त्रकै सूचनाको सन्त्रासमय मनोविज्ञान झल्कन्छ । तसर्थ यसबारे सूक्ष्म विश्लेषण हुनुपर्छ ।

पर्याप्त सुरक्षाको घेरामा अमेरिकी राष्ट्रपतिहरू अब्राहम लिंकन र जोन एफ केनेडी मारिए । भारतका प्रधानमन्त्री इन्दिरा गान्धी र उनका पुत्र राजीव गान्धी मारिए । झन्डै चार हजार सैनिकको सुरक्षा लिएर बसेका राजा वीरेन्द्र मारिए । चीनका प्राध्यापक वाङचुङले ‘नेपालको सुरक्षात्मक रणनीति’ पुस्तकमा भारत र अमेरिकाको डिजाइनमा वीरेन्द्रको हत्या भयो भनेका छन् । चीनमा छु राजतन्त्रका बेला प्रधानमन्त्री छुन्सेन मारिए, इशापूर्व २३८ मा । सुइ वंशका सम्राट याङ मारिए । भुटानका प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जे मारिए, सन्् १९६४ को अप्रिल ६ तारिखमा ।

हिन्दुराष्ट्र पत्रिकाका सम्पादक नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरे, भारतलाई विभाजित गराएको आरोपमा । अमेरिकामा ‘गोराहरूले काला जातिलाई दमन गरे’ भन्दै आवाज उठाउने किङ मार्टिन लुथर मारिए । अस्ट्रियाका राजकुमार फ्रान्ज फर्डिनान्डको हत्या प्रथम महायुद्धको कारक तŒव बन्न पुग्यो । अमेरिकाका पच्चीसौँ राष्ट्रपति विलियम म्याकिन्लीको हत्याको प्रमुख कारण मानिन्छ, स्पेनसँगको युद्धको तयारी । अमेरिकाका बीसौँ राष्ट्रपति जेम्स गारफिल्डलाई गोली हान्ने वकिल र पत्रकार चाल्र्स जे. गिटिउलाई कतिपय लेखकले ‘विक्षिप्त बौद्धिक’ भनेका छन् । थियोडर रुजवेल्ट गोली लागेर पनि बाँचे । फिडेल क्यास्त्रो धेरैपल्ट हमला छलेर बाँचे । सन् १९१७ को अक्टोबरमा रसियामा कम्युनिस्टले राजतन्त्र मासेर शासन सुरु गर्ने क्रममा जार (राजा) सहित उनका परिवारको हत्या गरे ।

श्रीलंकामा ललित अथुलाथमुदाली, डिएम दशानायके, गामिनी दिशानायके, रञ्जन विजयरत्ने, ले.ज. नलिन आगमन, एडमिरल क्लान्सी फर्नान्डो, मे.ज. पर्सि फर्नान्डो, राष्ट्रपति रणसिंघे प्रेमदासालगायत धेरैको हत्या भयो । त्यहाँका सुरक्षा प्रमुखहरू हाम्रा सबै भिभिआइपी र भिआइपीहरू सुरक्षित छन् भन्दै थिए । ‘सबै सुरक्षित छन्’ भनेर आश्वस्त पार्न खोज्नु उनीहरूको बाध्यता हो तर कैयन् मुलुकमा उच्च सुरक्षा अधिकारीहरू आफ्नै अंगरक्षकबाट मारिएका छन् । ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका’ पुस्तकमा प्राध्यापक रोहण गुणरत्नेले भारतीय गुप्तचर संस्थाले श्रीलंकामा रक्तपात मच्चाएको, पृथकतावादी आन्दोलन चलाएको र कैयन् नेताको हत्या गराएको सप्रमाण व्याख्या गरेका छन् ।

दाजु देवशमशेरलाई पाता कसेर चन्द्रशमशेरले श्री ३ को मुकुट लगाए । राजा रणबहादुर शाहलाई उनकै भाइ शेरबहादुरले मारे । भान्जा वीरनरसिंह कुँवरलाई ‘जंगबहादुर’ नाम राखिदिने माथवरसिंह थापालाई आफ्नै भान्जाका हातबाट मर्नुपर्ला भन्ने लागेको थिएन होला । कैयन् घर–घरमा पतिले पत्नीलाई र पत्नीले पतिलाई मारेका खबर आइरहन्छन् । तसर्थ, कसलाई सुरक्षित मान्ने ? शायद त्यसैले होला, क्यानडाकी नायिका निया भर्डालस भन्छिन्– हामी असुरक्षित संसारमा बाँचेका छौँ ।

हालै कावुल–जलालावाद राजमार्गमा राष्ट्र संघका पाँच जना कर्मचारी मारिए । ‘हमला हुँदैछ’ भन्ने पूर्वसूचना पाएनन् उनीहरूले । तर हमला भएमा कसरी सामना गर्ने तयारी मात्र थियो । समयमा सूचना पाउँदा लाक्षागृहमा जल्नबाट बचेका थिए, पाण्डवहरू । समयमा प्राप्त गरिने सूचना, त्यसको विश्लेषण र मीमांसा गर्न ‘बौद्धिक फौज’ चाहिन्छ, हुल्याहाको बथानले सुरक्षा गर्दैन । बाह्य खतरा, आन्तरिक खतरा, प्रायोजित वा सुनियोजित खतरा वा भवितव्य वा आवेशजन्य खतराका चरित्र फरक हुन्छन् । कोतपर्व पूर्वयोजनाको मञ्चन थियो । त्यहाँ कैयन् ‘भिआइपी’ मारिए । भण्डारखालपर्वका बारेमा राजगुरु विजयराज पाण्डेले जंगबहादुरलाई समयमै गुप्त सूचना दिएकाले रक्तपात हुन पाएन । जंगबहादुरको ज्यान जोगियो ।

मार्टिन केली लेख्छन्– अमेरिकामा सत्तामा बसेका बेला चार जना राष्ट्रपति मारिए । अब्राहम लिंकन, जेम्स गारफिल्ड, विलियम म्याकिन्ली र जोन एफ. केनेडी जस्ता राष्ट्रपतिको हत्या सामान्य घटना थिएन । केनेडीका पालामा टेलिभिजन घरघरमा भएकाले त्यसले धेरै चर्चा पायो ।

जंगबहादुरको मृत्युपछि उनका भाइ रणोद्दीप प्रधानमन्त्री भए । उनलाई भतिजाहरूले मारे । रणोद्दीपका भाइ धीरशमशेरका सत्र जना छोरा थिए । तीमध्येका एक वीरशमशेरले काकालाई मारे । वीरशमशेर प्रधानमन्त्री भएको खबर सहरमा फैलियो । उज्यालो नहुँदै ‘वीरशमशेर महाराजकी जय’ भन्दै काठमाडौँका जनताले वीरशमशेरको दरवारमा पुगेर भजन गाउन थालेको इतिहासकारहरूले लेखेका छन् । ऊबेला आत्मरक्षाका लागि प्रधानमन्त्री रणोद्दीपले आफूसँग राखेको ‘विजुली गारत’ नयाँ सत्ताका पक्षमा उभियो । चन्द्रशमशेरलगायतका धीरका छोराहरूलाई सैनिक तालिम दिएका बाग्लुङ निवासी कर्णेल चक्रपाणी सापकोटाले रणोद्दीपको हत्या भएकै ठाउँमा पुगेर प्रतिरोध गर्न खोज्दा वीरशमशेरहरूले बाध्यताले काकाको बध गरेको तर आफूहरूले राष्ट्र र प्रजाको अहितमा कुनै काम नगर्ने वचन दिएपछि चक्रपाणी र उनको कमान्डमा रहेका सैनिकहरू घटनास्थलबाट फर्केको किम्वदन्ती आफूले बाल्यकालमा सुनेको चक्रपाणीका वंशज बलराम हमाल ठकुरी बताउँछन् ।

वि.सं. १९४२ को सो घटनालाई इतिहासमा ‘बयालीस सालको पर्व’ भनिन्छ । यसअघि १९३८ सालमा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारका लागि चितवन जाँदा प्रधानमन्त्रीसहित प्रधानसेनापति धीरशमशेरलगायतको हत्या गर्ने योजना बनाइएको थियो । राजा त्रिभुवनका पिता पृथ्वीवीरविक्रम शाहलाई हटाएर नरेन्द्रविक्रम शाहलाई राजा बनाउने षडयन्त्रको पोल खुलेपछि नरेन्द्रविक्रम शाह, जगतजंग राणा, वमबीरसिंह राणा आदिलाई प्रयाग (इलाहावाद) नजिक चुनारगढमा कैद गरियो । षडयन्त्रमा मद्दत गर्ने सुब्बा होमनाथ खतिवडा, केदारनाथ खतिवडालगायत दश जना ब्राह्मणलाई जातिच्युत गरियो । भिआइपी र भिभिआइपीमाथि सुरक्षा खतराको वृत्तान्त खोज्दै जाँदा बेलाबखत दुर्दमनीय, कल्पनातीत र अप्रत्याशित दुर्घटना भएका धेरै उदाहरण भेटिन्छन् । इतिहासकार बाबुराम आचार्यले ‘अब यस्तो कहिले नहोस्’ पुस्तकमा यस्ता राजनीतिक घटनाका बारेमा सविस्तार वर्णन गरेका छन् ।

जंगबहादुरकी माहिली छोरी तथा युवराज त्रैलोक्यकी पत्नी (पृथ्वीवीरविक्रम शाहकी आमा) ललित राजेश्वरी राजलक्ष्मीदेवी नै शमशेर खलकसँग मिलेको तर सहोदर दाजुहरूलाई धोका दिएकाले जंग खलकको पतन गराउन उनको हात रहेको देखिन्छ ।

जेडप्लस, एक्स, वाइ आदि दर्जाको सुरक्षा लिए पनि कतै भालाले घोचेर, कतै फूलमालामा बम लुकाएर भिभिआइपीका प्राण हरण गरेका उदाहरण छन् । चालक नभिजे पनि गाडी नदीमा डुबेको र भिआइपीहरू ‘मारिएको’ घटनाले तत्कालीन एमाले नै भयाक्रान्त देखियो । सो दलबाट प्रधानमन्त्री भएका एक जना नेताले मिडियामै लाचारी व्यक्त गरे– राष्ट्रवादी हुने इच्छा त हाम्लाई पनि छ तर के गर्नु र मदन भण्डारी जस्तो बनाउँछन् ।

पत्रकार केपी ढुंगाना लेख्छन्– राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा २८५ जना सुरक्षकर्मी खटाइएका छन् । त्यस निम्ति महिनामा आठ करोड बीस लाख रुपियाँ खर्च हुन्छ । प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि ३०५ जना छन् । त्यसका लागि प्रत्येक महिना सात करोड असी लाख रुपियाँ खर्च भइरहेको छ । (जुलाइ १४, २०१७ माइ रिपब्लिका अंग्रेजी दैनिक)

निश्चय पनि आज त्यो खर्च बढेको छ । महिनामा एक दिन पनि बाहिर निस्किनु नपर्ने उपराष्ट्रपति पदमा बस्नेलाई दिइएको सुरक्षा ‘चार आनाका मुर्गी, बाह्र आनाका मसला’ जस्तो सुनिन्छ । राष्ट्रका लागि कुनै योगदान, भूमिका र खासै महŒव नभएका पदहरू आलंकारिक मात्र भएका छन् । श्राद्ध गरिरहेका बेला बाजेले चकचके बिरालो बाँधेको देखेपछि नातिले पनि उमेर पुगेपछि गाउँबाट बिरालो खोजेर ल्यायो । ‘बिरालो बाँधेर श्राद्ध गर्नुपर्छ’ भन्ने बुझ्यो । हिजोसम्म सडकमा लखरलखर हिँड्नेहरूलाई राज्यले दिएको यथेष्ट सुरक्षा ‘ढाकाको टोपीमा गुयेँलाको फूल’ बनेको छ ।

झण्डै ९ वर्षपहिले गृह मन्त्रालयले भिभिआइपी सुरक्षाको नयाँ व्यवस्था ल्यायो । सेना र प्रहरीको ठूलो संख्या तैनाथ गराएर ‘अति विशिष्ट’ महानुभावलाई प्रशन्न तुल्याइयो । विगतमा जघन्य अपराध गरेका कारण भयभीत भएकाले आफ्नै छायाँसँग डराउनेहरूले पनि कहिले नचिताएको पद, सुख र सुविधा पाए । जनमुक्तिको भाषण गर्नेहरूले पेटभरि खान पाए । विश्वका ‘अत्याधुनिक’ सुविधा भोग गर्न पाए । महँगा होटलमा गएर सपरिवारले पचासौँ हजार रुपियाँको भोजन गर्न थाले । युरोप–अमेरिका र भारतका महँगा स्कुल–कलेजमा छोराछोरी पढाउन थाले । हिजोसम्म ‘सर्वहारा’ भनिने वर्गका नेतागण ल्यारी एलिसन, बिल गेट्स, मुकेस अम्बानी, जेफ बेजस आदि जस्तो अर्बौँ डलरको मालिक बन्ने सपना देखिरहेका छन् ।

सत्तामा बस्नेहरू हुन् वा प्रतिपक्षी भएर ससाना छाउपडीमा बस्नेहरू, सबैलाई अर्बपति हुने अदम्य इच्छा जागेको छ । राज्यले दिएको सुखसुविधा, सुरक्षा र सम्मानको दुरुपयोग गरेर तस्कर, जाली र भ्रष्टसँग साँठगाँठ गर्नेहरूलाई कठोर कारावासमा राख्न सक्ने देशभक्त, इमानदार र साहसी राज्यसत्ता बनेको भए फलामका पर्खालभित्र धेरै कपुत सुरक्षित हुने थिए । जुन राष्ट्रमा बहुसंख्यक सज्जनलाई दुर्जनले शासन गर्छन्, त्यहाँका जनता असुरक्षित र नेतागण सुरक्षित हुन्छन् । हिन्दी चलचित्रमा हिरोको ‘डमी’ बनाएर बीस तल्ला माथिबाट लात हानिन्छ । दर्शकले हिरो खसेको देख्छन् । जुरुक्क उठेर उसैले खलनायकलाई गोद्न थाल्छ । ‘मरिसके’ भनिएका कैयन् नेता त्यसरी नै बौरिएका छन् नेपालमा । उनीहरूले राष्ट्र र जनताको उद्दार गर्ने निर्विकल्प नायक आफूलाई ठान्ने गर्छन् । पछिपछि दगुर्ने ‘नेता वाहिनी’ फौज मासुभात खाएर नारा लाउँछ । राष्ट्र र जनता निष्प्राण भए पनि उसलाई मतलब छैन । ऊ नेताको जय÷जयकार गर्छ ।

अमेरिकी लेखक चाल्र्स पिकरिङको कथन छ– ‘प्रजातन्त्र शिष्ट, सफल, सार्थक र सुसंस्कृत हुनका लागि जनता पनि त्यस्तै हुनुपर्छ ।’ मिठाइ बनाउन चाहिने घ्यु, चिनी, पिठो, मसला आदि सडे÷गलेको छ भने मिठाइ कस्तो होला ? असल र खराब छुट्याउन नसक्ने नेता र जनताले डेमोक्रेसीका नाममा जे गरे, जे गर्दैछन्, त्यो जगजाहेर छ । यति हुँदाहुँदै पनि व्यक्तिगत स्वार्थले लाखौँ कार्यकर्तालाई सम्मोहित तुल्याएको छ । भ्रष्ट, अकर्मण्य, राष्ट्रघाती र निकृष्टहरू मरे भने राष्ट्र संकटमा पर्छ भनेर सोच्नेहरू पनि छन् । सुगन्ध र दुर्गन्ध चाल पाउने गुप्तचर हो, नाक । नाक नै सड्यो भने के हुन्छ ? सुन्दर र कुरूप छुट्याउने आँखामै दृष्टिदोष छ भने के होला ?

आज नेपाली राष्ट्रियता असुरक्षित छ । राष्ट्रिय एकता असुरक्षित छ । राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय स्वार्थ असुरक्षित छ । नेपालको सिमाना असुरक्षित छ । जनता असुरक्षित छन् । मुलुक र मुलुकी (जनता)  बचाउन सपथ लिएका सबैले व्यक्ति होइन, राष्ट्रको रक्षा गरुन् । त्यति गर्ने हो भने राष्ट्रका सबै व्यक्ति र शक्ति सुरक्षित रहन्छन् । धर्म–संस्कृति सुरक्षित रहन्छ । इतिहास सुरक्षित रहन्छ । खेतबारी नै अरूले कब्जा गर्न लागेका बेला टर्रटर्र कराइरहने भ्यागुताहरूको रक्षाका लागि सरोकारवालाहरूले टाउको दुखाउनै पर्दैन । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार