असार २५, २०८२ बुधबार July 9, 2025

चारैतिर भाइरस – युवराज गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राणा शासन अन्त्य गर्न प्रजापरिषद्ले ठूलो संघर्ष ग¥यो। त्यो आन्दोलन जनताको अधिकार स्थापना गर्ने पवित्र उद्देश्यद्वारा अनुप्राणित थियो। भित्रभित्रै राजा त्रिभुवनले सहयोग गरिरहेका थिए। त्रिभुवनको साथ पाउने यस्ता युवामध्ये दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री (जोशी) लाई श्री ३ जुद्धशमशेरले मृत्युदण्ड दिए।

कैयन् पल्ट राजाकै सामुन्ने विद्रोहीहरूलाई मरणासन्न हुनेगरी कुटपिट गरिन्थ्यो। त्रिभुवनलाई तर्साइन्थ्यो। अमानवीय यातना देखेपछि एक पल्ट राजाले प्रधानमन्त्रीसँग गुनासो गरे– ‘पनिस्मेन्ट सुड बि मोडरेट’ (सजाय समयानुकूल हुनुपर्छ)। क्रुद्ध भए पनि राजा निरीह थिए। अधिकारहीन थिए। भाइरसबाट घेरिएका थिए।

प्रजातन्त्र स्थापना जस्तो महान् र पवित्र उद्देश्यका लागि प्राणोत्सर्ग गर्न तयार ‘ट्रोजन हर्स’ शैलीको गुप्त फौजमा हजारौँ युवा संलग्न थिए। उनीहरू घर, परिवार, सम्पत्ति मात्र होइन, प्राणसमेत त्याग गर्न तयार थिए। जंगबहादुर कुँवरले सैनिक विद्रोह गरेर स्थापना गरेको एक सय चार वर्ष लामो शासन ढलेपछि राष्ट्रमा जनताले स्वतन्त्रता, प्रजातन्त्र, आत्मसमान, सुरक्षा, नागरिक हक र प्रचुर आलोकको अनुभूति गर्न पाउँछन् भन्ने धारणा विकसित हुँदै थियो। यसका लागि संगठित सबै युवा राष्ट्रवादी थिए। त्रिभुवनका प्रिय थिए।

‘राजा त्रिभुवनका मान्छे’ भनेर राणा शासकले ‘आँखी’ बनाएका टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, चन्द्रमान कम्पाउन्डर, हरिकृष्ण श्रेष्ठ, गणेशमान सिंह, बलबहादुर पाँडे, ध्रुवप्रसाद दवाडी, परीक्षितनरसिंह राणा, फणिन्द्रराज हमाल आदिबारे दमनराज तुलाधरले चर्चा गरेका छन्।

२००७ सालको क्रान्तिबारे तुलाधरबाहेक भुवनलाल प्रधान, बालचन्द्र शर्मा आदिले गहिरो अध्ययन गरेर पुस्तक लेखे। सुनेको, पढेको र पत्रपत्रिकामा छापिएका सामग्रीलाई आधार मानेर बितेका तीस–चालीस वर्षमा कैयन् पुस्तक छापिए पनि तीमध्ये धेरै पुस्तकमा स्पष्ट तस्बिर पाइँदैन। कतिपयले इतिहासको अपव्याख्या पनि गरेका छन्।

राजा त्रिभुवनको युगपछि २०१२ सालमा युवराज महेन्द्रले राजगद्दी सम्हाले। उनको जन्मकोे नाम देवेश्वर थियो तर ऊबेलाका प्रसिद्ध ज्योतिषिहरूले महेन्द्र नाम राखे। जन्मकुण्डली अध्ययन गर्दा छैटौँ स्थानमा मंगल, चौथो स्थानमा वृहस्पति, तेस्रोमा बुध, पाँचौँमा शनि, प्रथम स्थानमा केतु, बाह्रौँ स्थानमा चन्द्रमा, सातौँमा राहु, दोस्रोमा सूर्य र शुक्र बसेको हुँदा राजा त्रिभुवनका जेठा छोरा महेन्द्रले ‘चमत्कार’ गर्छन् भन्ने ज्योतिषिहरूको ठहर थियो। काठमाडौँको वाल्मीकि क्याम्पसलगायत पीठमा प्राध्यापक बनेर चालीस वर्ष बिताएका संस्कृतका प्रसिद्ध विद्वान् रामचन्द्र पौडेल (ललितपुर) भन्थे– ‘सानैदेखि जिज्ञासु, उत्साही, सोचमग्न र सिर्जनशील थिए महेन्द्र।’ राजा वीरेन्द्रका राजगुरु केशरीराज पाण्डेका समेत गुरु हुन् रामचन्द्र पौडेल। माहिला गुरुज्यू हेमराजका छोरा केशरीराजलगायतका कैयन्लाई योग्य बनाउने रामचन्द्र गुरुले दरवार राम्ररी बुझेका थिए। २०५८ सालमा सानेपास्थित निवासमा उनले भनेका कतिपय कुरा घतलाग्दा र मनानयोग्य छन्। उनले भनेका थिए– राजदरवार भनेको ज्ञान, विवेक, धर्म, संस्कृति, इतिहास र परम्परालाई बचाउने केन्द्र हो। राजा महेन्द्रपछि टापटिपे प्रवृत्तिका कारिन्दाहरूले दरवारलाई राजनीतिको मैदान मात्र बनाए। राजालाई भ्रममा पारे। नारायणहिटी हत्याकाण्डपछि दरवार धेरै कमाजोर भएको छ। राजा ज्ञानेन्द्रले विभिन्न क्षेत्रका योग्य, सक्षम, कुशल, इमानदार र देशभक्तहरूलाई छानेर जिम्मेवारी दिए भने इज्जत रहला, नत्र केही भन्न सकिँदैन।

उनले भनेझैँ चौतर्फी हमलाको सिकार भयो दरवार। राजदरवारमा सैनिक सचिव रहेका एक जना अवकाश प्राप्त अधिकृतले कतिपय सचिवले तस्करलाई खुसी पार्न राजदरवारबाट विभूषण दिलाएको कथा लेखेका छन्। २००९ सालमा धर्मपालवरसिंह थापा, भरतकेशर सिंह आदिसँगै सेनामा प्रवेश गरेका ती जर्नेलको आत्मकथामा आत्मस्तुति पनि छ तर धेरै कुरा उनले ऐनाझैँ देखाएका छन्।

लोभी, भ्रष्ट, कर्तव्यच्युत, अभिमानी र चाकडीचुक्ली प्रवृत्ति बढ्यो भने सेना विकारको घर बन्न सक्छ भन्ने कुरा अफ्रिकाका केही राष्ट्रमा देखिएको छ।

राजाको आँखा छलेर कुकृत्य गर्ने प्रवृत्ति दरवारमा व्याप्त हुनु दुर्भाग्यको कुरा थियो। यो पंक्तिकार गोरखापत्रमा प्रधानसम्पादक छँदा राजदरवारको सिकारी अड्डामा भ्रष्टाचार भएको खबर आयो। अड्डा प्रमुखले सिकारी सिपाहीको रासन बेचेर खाइदिँदा रहेछन्। खबर छापिएपछि कर्मचारीले न्याय पाए। प्रधानसम्पादकले सचिवहरूको गाली पायो। राजाको आँखा छलेर भ्रष्टाचार र बेथिति गर्नेहरूलाई पत्ता लगाएर सिस्नुपानी लगाउनुपथ्र्यो। राजाको मुख्य कार्यसूची भ्रष्टाचार निवारण नै थियो तर दरवारका उच्चपदस्थहरूमध्ये केही लोभीहरू अवाञ्छिततवरले धन कमाइरेका थिए भन्ने पुष्टि भयो।

एक जना सचिवले दरवारको एउटा कोठामा लगेर थर्काए–‘तपाईँ गोरखापत्रको प्रधानसम्पादक मात्र हो। किन भ्रष्टाचारका खबर छाप्नुहुन्छ, जागिर खोस्नुपर्यो ?’ मैले विनम्रतापूर्वक जवाफ दिएँ– मैले कुनै गलत काम गरेको भए आजै पद त्याग्छु। यो आजीवन भोग गर्ने पद होइन, सचिवज्यू। सरकारबाट भ्रष्टाचार र विकृति रोक्ने प्रण गरिबक्सेको छ। सोहीअनुसार दिनको पन्ध्र सोह्र घण्टा खटिएर मैले आफ्नो ड्युटी गरेको छु। क्षमा पाउँ, हजुरको व्यवहार हेर्दा अहंकार बढेको जस्तो लाग्छ। यसले कसैको भलो हुँदैन।

उनी स्तब्ध भए। उनले मेरो जागिर मात्र खोस्न सक्थे, प्राण लिने कुरा थिएन। राजदरवारदेखि सिंहदरवारभित्र जुका बनेर चुसिरहेका भ्रष्ट भाइरसलाई समयमै विषादी हालेको भए न दरवार कमजोर हुन्थ्यो न त विदेशीले गुप्त सूचना पाइरहन्थे।

राजदरवार कमजोर बनेपछि धेरैले अब सैनिक मुख्यालय बलियो बन्दैछ भन्ने विश्लेषण पनि गरे। तर पहिले राजाले निगरानी गर्ने हुँदा सैनिक मुख्यालय धेरै शुद्ध थियो। त्यहाँ क्रमशः विकार बढ्यो। हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले धेरैपल्ट झाडु लगाएर मुख्यालय सफा गर्न खोजेको देखिन्छ तर उनले नदेखेका फोहोर पनि धेरै छन्।

पद दुरुपयोग गरेर केही अधिकृतले विगतमा पनि पत्नी, परिवारजन र नातागोताका सेवामा सैनिक मुख्यालयको स्रोतसाधन दुरुपयोग गरेको खबर आउँथ्यो। अहिले पनि यदाकदा प्रधानसेनापतिलाई समेत अप्ठ्यारोमा पार्ने काम भइरहेका छन् भन्ने संकेत सञ्चारमाध्यमले गरिरहेका छन्।

सरकारी सम्पत्ति दुरुपयोग गर्ने र अनैतिक एवं गलत काम गर्नेहरूलाई तह लगाउन प्रधानसेनापति थापाले गरेका प्रयत्न उदाहरणीय छन्। ‘प्रिय’ बन्न खोजेर सैनिक नेतृत्वलाई बदनाम गर्न चाहने प्रवृत्तिले नेपालको झन्डै पाँच सय वर्ष पुरानो संगठनमा भाइरस फैलिएला भन्ने चिन्ता अहिले पनि छँदैछ। गलत र भ्रष्ट प्रवृत्ति नरोक्ने हो भने प्रधानसेनापति र इमानदार अधिकृत÷जवान सबैले मिलेर आर्जन गरेको इज्जत गुम्न सक्ने खतरा देखिन्छ।

भ्रष्टाचार रोक्न नसक्दा ‘निजामती’ कैयन् वर्षयता वाग्मती र विष्णुमतीझैँ गनाएको छ। सेनाले ‘कोर्ट मार्सल’ गरेर कैयन् भ्रष्टलाई कार्बाही गरेकाले नेपाल प्रहरी र निजामतीमा फैलिएका जस्ता रोग सेनामा व्याप्त भइसकेको देखिँदैन तर यो अवस्था सधैँ रहँदैन। सक्षम नेतृत्व रहन्जेल शुद्धीकरण अभियान चलिरहला तर कुनै दिन अप्रत्याशित र कल्पनातीत दुर्घटना पनि हुन सक्छ। लोभी, भ्रष्ट, कर्तव्यच्युत, अभिमानी र चाकडीचुक्ली प्रवृत्ति बढ्यो भने सेना विकारको घर बन्न सक्छ भन्ने कुरा अफ्रिकाका केही राष्ट्रमा देखिएको छ।

हृषीकेश शाहले ‘नेपाली पोलिटिक्स रेस्ट्रोपेक्ट एन्ड प्रोस्पेक्ट’ ग्रन्थमा लेखेका छन्– राजा महेन्द्रले जग्गा र धन दिएर सुयोग्य सैनिकहरूलाई अझ सक्षम र वफादार बनाए। यसले आपसी विश्वास बढ्दै गयो। राष्ट्रहित र अहित गर्ने सबैलाई चिन्न सकेन भने सेनाले मात्रै थाम्न सक्दैन।

राष्ट्रपति आइजनहावरले राजा महेन्द्रलाई ‘सदैव मद्दत गर्ने’ वचन दिएको र २०१७ सालको कदमपछि अमेरिका र ब्रिटेनलगायतका शक्तिबाट नेपाल लाभान्वित भइरहेको प्रसंग उल्लेख गरेका छन् शाहले। राजा ज्ञानेन्द्रको शासनकालमा नेपाली सेना कमजोर भएको विश्लेषण गर्दै नेपालस्थित अमेरिकी राजदूत जेम्स मोरियार्टीले सन् २००६, अप्रिल १० तारिखमा वासिङ्टनमा पठाएको सन्देशमा ‘सेना आत्मरक्षामा मात्र पर्याप्त देखिएको’ लेखेका छन्। (विकिलिक्स, अप्रिल १०, २००६)

नेपाल झन् असुरक्षित बन्दैछ भन्ने जगजाहेर छ। अमेरिकाले दक्षिण एसियाको सामरिक ठेकेदार मानेर दिल्लीलाई जिम्मा दिने मानसिकता बनाएको देखिन्छ। एसिया–प्रशान्त क्षेत्रमा पर्ने जापान, भारत, अस्ट्रेलिया आदिलाई प्रयोग गरेर चीनलाई अवरोध गर्ने अमेरिकाले एमसिसीलगायतका अनेकौँ जालो ओछ्याएको पाइन्छ भने चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसियालगायत आफ्ना वरपरका राष्ट्रमा अमेरिकी प्रभाव रोक्न खोजिरहेको अवस्था छ।

चीनको छिमेकी भएर बसेका चौधवटा राष्ट्रमा अमेरिकाले क्रमशः प्रभाव बढाएको छ। यसका लागि गुप्त सूचना संग्रह गर्न पत्रकार, सरकारी तलवजीवी, कथित नागरिक समाज र मानव अधिकारकर्मीलाई वासिङ्टनले वैतनिक कमैया बनाउने रणनीति लिएको पाइन्छ। त्यो रोक्न चीनको तयारी र रणनीति पक्कै होला तर सतहमा देखिँदैन।

यस्तो अवस्थामा राजनीतिक दलहरूमा ध्रुवीकरण हुनु, बाझाबाझ गनुर्, घात÷प्रतिघातमा व्यस्त रहनु स्वभाविक हो। कूटनीति ‘कुटिलनीति’ बन्नु अस्वाभाविक होइन। सन् १९९८ मा बनेको अमेरिकी चलचित्र ‘एनिमी अफ द स्टेट’ रोचक छ। राष्ट्रिय सुरक्षाको दायित्व लिएको एजेन्सीले महत्वपूर्ण नेतालाई ‘राष्ट्रको शत्रु’ ठान्छ। आतंकवादको प्रतिरोध गर्न कडा कानुन बनाउनुपर्छ भनेर राखिएको प्रस्तावलाई नेताले चुनौती दिन्छन्। कानुन बनाउँदा मानव अधिकार कुण्ठित हुन्छ भन्ने अत्तो थापेर आतंकवादको रक्षा गर्न खोज्छन्। सेनाले गुप्तरूपमा उनलाई सिध्याउँछ र हृदयाघातबाट मृत्यु भएको प्रचार गर्छ।

‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने डक्ट्रिनमा राष्ट्रहितका प्रश्नमा कसैसँग मोलाहिजा गरिँदैन। राष्ट्रका भाइरसहरू वध गरिन्छ। आठ दश जना राष्ट्रघातीको जीवनलीला समाप्त भएपछि अरूले टाउको उठाउन सक्दैनन् र राष्ट्रको जीवन सुरक्षित रहन्छ, राष्ट्रले टाउको उठाउँछ। केही वर्षयता नेपाल विदेशी गुप्तचरको गुँड र ‘स्पाइ फ्याक्ट्री’ भइसकेको छ। त्यसैले राष्ट्रको भविष्य कति सुरक्षित छ भन्ने प्रश्न उठ्ने गरेको हो।

कम्बोडियामा अमेरिकी गुप्तचरहरूले कम्युनिस्टलाई उचालेर बौद्ध धर्मावलम्वी राजा नरोदम सिंहानुखलाई हटाए। उनले आफ्नो ग्रन्थमा त्यसको चर्चा गरेका छन्। कवि, लेखक र गायक हुन्, राजा सिंहानुख। उनले एल्भिस प्रिस्लेको गीत ‘समर किसेस विन्टर टियर्स’ युवा पुस्ताको मन छुनेगरी गाएका छन्। गीतकार, संगीतकार र गायक ज्ञानेन्द्र शाह जस्तै उनी राष्ट्रको सुरक्षा, सुख र समृद्धिमा युवा पुस्तालाई आकर्षित गर्ने पक्षमा अझ पनि प्रयत्नशील छन्।

राष्ट्रका विरुद्ध गतिविधि गर्नेलाई ‘राष्ट्रद्रोही’ (ट्रेटर) भनिन्छ। यस्तो चरित्रलाई कुनै पनि राष्ट्रमा सम्मान गरिँदैन, बरु कठोर दण्ड दिइन्छ। क्युबाका कवि जोस मार्टीको कविता छ– प्रकृतिकै ढोकाबाट म निस्कन्छु अनन्त यात्रामा। मेरो चिहानमा हरिया पातहरू झरुन् निरन्तर। मलाई अँध्यारोमा नराख, देशद्रोहीलाई जस्तो। मैले कुकृत्य गरिनँ कहिले पनि, त्यसैले मेरो मुहारमा परोस् सूर्यको प्रकाश।

भाइरसलाई जब पुष्पहार, मान, अलंकार र सुविधा दिएर पुल्पुल्याइन्छ, त्यो राष्ट्र सधैँ ओरालो लाग्छ। भावी पुस्तासमेत दिग्भ्रमित वा पलायन हुन्छ। जताततै असत्य प्रवल हुन्छ। अहिले त्यही भइरहेको छ नेपालमा। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार