असार २५, २०८२ बुधबार July 9, 2025

काँग्रेस सरकारको सम्भावना र ‘अर्ली पोल’ – डा. सुरेश आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसले पछिल्लो समय आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्यो र त्यसका लागि प्रारम्भिक पहल गरेको छ । लामो समयसम्म काँग्रेसले सरकार बनाउने रुचि देखाएको थिएन । सुरुमा काँग्रेसभित्रै शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ला भन्ने त्रास रामचन्द्र पौडेललाई थियो । उहाँले सार्वजनिक रूपमा नै काँग्रेस सत्तामा नजाने बताउँदै आउनुभएको थियो । तर त्यसको केही दिन बित्न नपाउँदै उहाँले नै काँग्रेस शेरबहादुरकै नेतृत्वमा सरकारमा जानुपर्ने बताउनुभयो । उहाँको यो भनाइ आउनुअघि उहाँको गुटको बैठक बसेको थियो र बुढानीलकण्ठ निवासमै पुगेर देउवालाई प्रधानमन्त्री बन्न भन्नुभएको थियो ।

रामचन्द्रले यसो भनिरहँदा देउवालाई सरकारमा जाने बाटो खेलेको जस्तो लागेन । आकस्मिक रूपमा फेरिएको रामचन्द्रको वचनसँग जोडिएको स्वार्थको मात्र देउवाले आकलन गर्नुभएन, संसदीय अङ्क गणितको पनि उहाँले लेखाजोखा गर्नु भयो होला । नेकपा माओवादी केन्द्र केपी ओलीलाई हटाउने विषयमा प्रष्ट रहे पनि जनता समाजवादी पार्टी ओली सरकार टिकाउने र गिराउने विषयमा विभाजित अहिले पनि छ ।

काँग्रेससँगको बैठकपछि पार्टी निर्णय गरेर आउँछौ भने पनि सजपा नेताहरू एक ठाउँमा उभिएलान् भनेर विश्वास गरिहाल्न कठिन छ । तीन पार्टी नमिली सरकार नबन्ने अवस्थामा हौसिएर सरकार बनाउन कुद्नुको कुनै अर्थ रहदैन, छैन । रामचन्द्र पौडेललाई जस्तो सत्रौँपटक प्रधानमन्त्रीको उम्मेदवार भइरहने छुट यो संविधानले दिएको पनि छैन र देउवामा शायद त्यो खालको रुचि पनि छैन । त्यसकारण उहाँ सरकार बनाउने विषयमा सार्वजनिक रूपमा नहतारिएको हुनुपर्छ, यद्यपि आन्तरिक जोड घटाउ नगरी देउवा मौन बस्नुभएको होला भने पक्कै पनि होइन ।

पछिल्लो समय नेपाली काँग्रेसले ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । काँग्रेसको यो निर्णय सम्पूर्ण राजनीतिक आकलनका आधारमा भएको देखिँदैन । रामचन्द्र पौडेल र शेखर कोइरालाहरू देउवाको मौनतासँग बढी सशङ्कित रहँदै आएका थिए । काँग्रेस अनिर्णयको बन्दी बन्न हँुदैन भन्ने दबाब देउवामाथि बढाइरहेका थिए । केन्द्रीय समिति बैठकमा जुन परिस्थितिमा निर्णय गरिएको छ, यसले स्वाभाविक बाटो लिनेछ भनेर विश्वास गर्ने आधार तयार भएका छैनन् । जसपाभित्रको पुरानो राष्ट्रिय जनता पार्टी समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने मनोविज्ञानमा देखिन्छ । सरकारले बनाएको वार्ता टोलीले जसपालाई सरकार भित्रिने सहज बाटो खोजिरहेको देखिन्छ ।

जसपाले एक मतले ओली सरकारविरुद्ध लाग्ने निर्णय गर्ने हो भने नयाँ सरकारको प्रष्ट चित्र अनुमान गर्न सकिन्छ । तर अन्योलमा उपेन्द्र यादव वा बाबुराम भट्टराई मात्रको जोडबलमा नयाँ सरकार बन्न सक्दैन । त्यसैले काँग्रेसले गरेको निर्णय आज भोलि नै कार्यान्वयनमा आउँछ भनेर विश्वास गर्न सकिँदैन । ओलीविरुद्ध अविश्वास प्रस्ताव काँग्रेस मात्रले ल्याउनै सक्दैन । उसँग त्यसका लागि चाहिने २५ प्रतिशत सदस्य पनि छैनन् । यो समस्या काँग्रेसको मात्र होइन, नेकपा माओवादी वा जसपा पनि काँग्रेसभन्दा कमजोर अवस्थामा छन् । त्यसैले सरकार बनाउन काँग्रेस अघि बढेन भनेर आलोचना गर्नु वा अघि बढ्न लाग्यो भनेर उत्साहित भइहाल्नुको पनि कुनै अर्थ देखिँदैन ।

यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गर्न थाल्नुभएको छ । जसपाको सकारात्मक भूमिका बनाउन उहाँले कुनै प्रयास गरेका आधारमा यो दाबी आएको जस्तो पनि देखिँदैन । नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको उहाँको अनुमान हो । यद्यपि, उहाँले यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेको जानकारी दिँदै भन्नु भएको छ – मैले महन्थ ठाकुरलाई पनि भनेको छु, म त हैरान भएर केपी ओलीविरुद्ध विद्रोह गरेर आएको छु । मधेसी अधिकारको पहिचान विरोधीसँग तपाईंहरूको के खासखुस भइरहेको छ ? यसले मधेसी जनताको अपमान हुन्छ । त्यसैले मधेसी जनताको आत्मसम्मानको मोर्चामा आउनुस् ।

प्रचण्डको यही भनाइलाई मानेर महन्थ ठाकुर ओलीविरुद्धको अभियानमा लाग्नु होला भनेर भन्ने आधार छैन । प्रधानमन्त्री ओली मधेसका विषयमा जहिले पनि आफ्ना अडानका साथ प्रस्तुत हुँदै आउनु भएको छ । समग्र मधेसलाई छुट्टै प्रदेश बनाउने विषयमा होस् वा मधेसका मुद्दा संशोधन गर्ने विषयमा, उहाँले आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन हुने भनेर पटक पटक सार्वजनिक रूपमा भन्दै आउनुभएको छ । तत्कालीन राजपाले सरकारलाई समर्थन दिँदा संविधान संशोधनको अवस्था रहन्छ भनेर ओली सरकारलाई विश्वासको मत दिएको पनि हो तर उहाँहरूको विश्वास अनुरूप काम नभएपछि विश्वासको मत फिर्ता लिएको पनि हो ।

त्यसैले ओलीको इमानदारीका बारेमा महन्थ आफैँ भलिभाँती जानकार हुनुहुन्छ । पछिल्लो समय फेरि प्रधानमन्त्री ओलीप्रति उहाँको विश्वास बढेको आभाष हुन्छ । प्रचण्डका भनाइ विश्वास गरेर वा नगरेर महन्थले निर्णय लिनुपर्ने अवस्था छैन । यतिबेलाको प्रश्न भनेको के महन्थ ठाकुर र उहाँको पार्टी नयाँ सरकारका पक्षमा उभिन्छ कि उभिदैन ? भन्ने हो । काँग्रेससँगको बैठकमा सजपाले केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर आउने बताएर उठेको छ र त्यो बैठक अझै बोलाइएको छैन ।

संसदीय पद्धतिमा सरकारले लगेका अध्यादेश फेल हुँदै गर्दा वा सरकारका नीति तथा कार्यक्रम पास नहुने अवस्था आउँदा सरकारले नैतिक रूपमा राजीनामा दिने प्रचलन छ । यही परम्पराका आधारमा सर्वोच्च अदालतले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णय असंवैधानिक हो भनेर फैसला दिँदा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्ने अनुमान थियो । संविधानको पालन गर्ने गराउने कार्यकारी निकायको प्रमुखको नैतिकताको मुद्दामा न राजनीतिक दलले प्रदर्शन गर्न सक्यो, न नागरिक समाजले । संसदीय बहुमत सरकार बनाउन र संसद्का निर्णय गर्नका लागि हो । अहिले ओलीसँग बहुमत पनि छैन र पनि, उहाँ कुन आधारमा सरकारमा बसिरहनु भएको छ भनेर खरो प्रश्न गर्ने आँट प्रचण्डसँग पनि छैन ।

प्रचण्डले अरू पार्टी ओलीविरुद्ध किन लागेनन् भनेर प्रश्न गरिरहँदा आफ्नो पार्टीले किन विश्वासको मत वा समर्थन फिर्ता लिएन भन्ने प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । यद्यपि, पार्टी विभाजनको अवस्थामा समर्थन रहे नरहेको भन्ने कुरा समर्थन दिने पार्टीले प्रष्ट भन्नै पर्छ । संविधानले प्रष्ट रूपमा सत्तारुढ पार्टी विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर यो सरकार एमाले पार्टीका रूपमा खडा भयो र फेरि त्यही उभिन आइपुगेको छ । सरकार बन्दै गर्दाको अवस्थामा माओवादीले विश्वासको मत दिएको भए पनि दुई पार्टी एकतापछि यो सरकार संविधानको धारा ७१ को उपधारा १ मा रूपान्तरित थियो । सर्सती हेर्दा सत्तारुढ पार्टी विभाजन भएको हो तर सरकारले फागुन २९ को फैसलालाई पुरानो अवस्थामा फर्किएको हो भनेर बुझेको देखिन्छ । यो विवादतिर नअल्झिने हो भने माओवादीले हिजो कुनै समय दिएको समर्थन फिर्ता लिएँ भन्दा सकिइहाल्छ ।

त्यसैले माओवादी आफैँ अनिर्णित अवस्थामा काँग्रेसले गरेको सरकारको पहलबाट खुसी हुनुको अर्थ छैन । ओली सरकारको विकल्प दिन दलहरू असफल भइरहँदा स्वाभाविक रूपमा यो सरकारको निरन्तरता कायम रहन्छ । यो अवस्थामा आफ्ना बलबुतामा सरकार बनाउने वा टिकाउने प्रयास भइरहेको छ भनेर दलहरू आफैँले समीक्षा गर्न जरुरी छ । अन्यथा छिमेकीलाई नचिनेका कुनै दलका नेता यहाँ छैनन् । छिमेकीबाट को कति प्रयोग र उपयोग हुन्छन् भन्नेमा पनि सबैका आआफ्ना अनुभव छन् । त्यसैले अलमलमा रहेर सरकारको आयु लम्ब्याउनेतिर भन्दा छिटो निर्वाचन गर्ने अभियानमा लाग्नु नै अहिलेको उत्तम विकल्प हो । किनभने अहिलेको संसद्को अङ्क गणितले पनि समाधानभन्दा जटिलतालाई नै प्रश्रय दिन्छ । तसर्थ, ‘अर्ली पोल’ का लागि सबै तयार भएर सहमतिको सरकार बनाउने बाटो खोज्नु नै श्रेयस्कर हुन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार